सकियो पर्यटकीय सिजन, सुनसान बन्यो मुस्ताङ (तस्बिरसहित)

माघ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
सकियो पर्यटकीय सिजन, सुनसान बन्यो मुस्ताङ (तस्बिरसहित)

पोखरा । पर्यटकीय सिजन सकिएसँगै हिमालपारिको जिल्ला मुस्ताङ सुनसान बनेको छ । उच्च हिमाली क्षेत्रमा भएको हिमपातपछि अत्यधिक चिसो बढेसँगै पर्यटक जाने क्रम पातलिएपछि मुस्ताङ सुनसान बनेको हो ।

लोमान्थाङ्ग, मुक्तिनाथ, जोमसोम, मार्फा, ठिनी, धुम्बालेकलगायत मुस्ताङका पर्यटकीय स्थलमा अहिले पर्यटक देखिँदैनन् । पर्यटक आउन छाडेपछि स्थानीय होटेल व्यवसायी पनि चिसो छल्न बेनी, पोखरा र काठमाडौं झरेका छन् । बेंसी झरेका मुस्ताङी चैत लागेपछि मात्रै फर्किन्छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना कार्यालय मुस्ताङका अनुसार गएको डिसेम्बरमा चार हजार आठजना र जनवरीमा ३५ देशका दुई हजार ५९ जना विदेशी पर्यटक मुस्ताङ पुगेका छन् । तीमध्ये १८६ जना थोरङ्ला पास हुँदै मुस्ताङ प्रवेश गरेका हुन् ।

मुस्ताङ जानेमा सबैभन्दा धेरै भारत, बंगलादेश, फ्रान्स, दक्षिण कोरियाका पर्यटक रहेको कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । पर्यटकका लागि मुस्ताङ जान सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अनुकूल मानिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.