नयाँ पर्यटकीय गन्तव्य बन्दै इलामको पानीटार

पुस १०, २०८० |विप्लव भट्टराई
नयाँ पर्यटकीय गन्तव्य बन्दै इलामको पानीटार

इलाम । थुम्का-थुम्कामा मौलाएको चिया बगानले भरिएको इलामको पानीटारमा पर्यटकीय गतिविधि बढ्दै गएको छ । देउमाई नगरपालिकास्थित पानीटारमा रम्ने र अध्ययनका लागि आउने विद्यार्थीको संख्या थपिँदै जाँदा स्थानीय बासिन्दा पनि उत्साही छन् ।

चिया पर्यटनबारे इलामको चर्चा भइरहँदा पछिल्लो समय पानीटार प्राथमिकतामा पर्न थालेको छ । कञ्चपुरको चाँदनी-दोधाराकी वर्षा रोकाया पनि पहिलो पटक पानीटार आइपुग्दा निकै खुसी देखिइन् । काठमाडौंको कलेजबाट अध्ययनका लागि उनीसँगै आएका १० जना विद्यार्थी र अध्यापक पनि प्राकृतिक सुन्दरतामा रम्दै स्थलगत अध्ययन गर्न पाएकोमा दंग देखिन्थे ।

वर्षा रोकायाले भनिन्, ‘म सुदुरपश्चिमको चाँदनी दोधाराबाट आएकी हुँ । यहाँ जति हरियाली छ, वहाँ त्यस्तो देख्न पाइँदैन । यो ठाउँ मेरो लागि स्वर्ग जस्तै अनुभूति भयो । एक्दमै खुसी लागेको छ ।’

डडेल्धुराबाट आएका अध्यापक चन्द्रदेव भट्टले भने, ‘यहाँको भौगोलिक, सांस्कृतिक पहिचान छुट्टै खालको छ । विभिन्न परिवेश र स्थानमा हुर्किएका बच्चाहरुलाई फरक अनुभूति होस्, सिकाइ होस् भन्ने उद्देश्यले हामीले यो ठाउँलाई छानेको हो ।’

इलाम सदरमुकामबाट २५ किलोमिटर पश्चिममा करिब ५ सय रोपनीमा फैलिएको चिया बगान नै पानीटारको मुख्य आर्कषण हो । यहाँसम्म पुग्ने सडकको स्तरोन्नति, आर्कषक भौगोलिक बनोट र चिया बगानसँगै होमस्टेको सेवा र वनभोजस्थल यहाँका आकर्षणका केन्द्र हुन् ।

नजिकैको अजम्बरे डाँडा, सिद्धिथुम्का, गुफापातल, गजुरमुखी, जटेश्वरधाम, पाटेनागीलगायत आसपास रहेका पर्यटकीय र धार्मिकस्थलका कारण पनि यो क्षेत्रमा घुम्नेहरु बढ्दै छन् । पानीटारका डाँडाबाट हिमालसँगै तराईका फाँटसमेत देख्न सकिन्छ ।

पानीटार पर्यटन तथा विकास केन्द्रका अध्यक्ष पासाङ शेर्पाले भने, ‘मनोरम दृश्य, डाँडाकाँडा, यहाँको चियाको बगानलगायतको पहाडी दृश्यावलोकनकै लागि पर्यटकहरु आउने गरेका छन् ।’

पर्यटक आकषिर्त हुन थालेपछि पानीटारको प्रचार र पूर्वाधार विकासमा पनि स्थानीयले मेहनत गर्न थालेका छन् । धार्मिक र पर्यटकीय स्थलमा आउने आगन्तुकलाई लक्षित गर्दै मंगलबारेमा व्यवस्थित होटलसमेत खुल्न थालेका छन् । घुमघामका लागि अब्बल पानीटार विराटनगरबाट एक सय ५० किलोमिटर र संघीय राजधानी काठमाडौंबाट करिब साढे पाँच सय किलोमिटर दूरीमा पर्छ ।

यहाँ अध्ययन अनुसन्धानका लागि देशका विभिन्न स्थानबाट आउने विद्यार्थीको संख्या पनि बढ्दो छ । त्यसैले आवागमन बढेसँगै सवारी पार्किङ र फोहोर मैला व्यवस्थापनमा देखिएको समस्या समाधान र स्तरीय पूर्वाधार विकासमा स्थानीय तहले पनि ध्यान दिन सके इलामको पानीटार उत्कृष्ट गन्तव्य बन्न सक्छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।