अन्नपूर्ण क्षेत्रमा एकै वर्ष २ लाख पर्यटक

चलायमान बन्दै पोखराको पर्यटन
मंसिर २१, २०८० |भुपाल गुरुङ
अन्नपूर्ण क्षेत्रमा एकै वर्ष २ लाख पर्यटक

पोखरा । अन्नपूर्ण क्षेत्रमा यस वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटकले पदयात्रा तथा घुमफिर गरेका छन् । यसै वर्ष सीएनएनले विश्वका २३ उत्कृष्ट गन्तव्यको सूचीमा राखेको मुस्ताङ उपत्यका र लन्ली प्लानेटले घुम्नैपर्ने विश्वका १० गन्तव्यमा राखेको अन्नपूर्ण क्षेत्रमा सन् २००१ यताकै सबैभन्दा धेरै पर्यटक भित्रिएका हुन् । पर्यटक बढ्दा पर्यटन क्षेत्रमा उत्साह थपिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सन् २००१ देखि विदेशी पर्यटकको तथ्यांक राख्न सुरु गरेको हो । त्यस वर्ष ६५ हजार ३१३ विदेशी आएकामा कोरोनापछि गत वर्ष एक लाख २९ हजार ७३३ पर्यटक अन्नपूर्ण क्षेत्र पुगेका थिए । यस वर्ष नोभेम्बरको अन्त्यसम्ममा एक लाख ८१ हजार ४८९ जना पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगिसकेका छन् ।

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्म सबैभन्दा धेरै पर्यटक सन् २०१९ मा एक लाख ८१ हजार जना गएको तथ्यांक छ । अंग्रेजी वर्ष सकिन एक महिना बाँकी छँदै यो संख्या यसअघिको भन्दा झन्डै पाँच सयले बढी हो ।

‘सबैभन्दा बढी पर्यटकहरु अन्नपूर्ण सर्किटमा गएको देखिन्छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना पोखराका प्रमुख डा. रविन कडरियाले भने, ‘भारतीय पर्यटकहरु बढी मात्रामा मुक्तिनाथ, जोमसोमतर्फ गएको देखिन्छ ।’

अन्नपूर्ण क्षेत्र जाने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । अहिले अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल छ । त्यहाँ जाने पर्यटकका कारण पोखराको पर्यटन क्षेत्रसमेत चलायमान बनेको छ ।

‘एकदमै मूर्तरुप लिने अवस्थामा म देख्छु र बढीभन्दा बढी पर्यटकहरु आउने गरेका छन्,’ पोखरा पर्यटन परिषद्‌का अध्यक्ष पोमनारायण श्रेष्ठले भने ।

कास्की, लमजुङ, म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाको सात हजार ६२९ वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र रोमाञ्चक र आनन्ददायक पदयात्राका लागि उत्कृष्ट छ ।

आकर्षक गन्तव्य, पर्यटनमैत्री पूर्वाधार, संस्कार, संस्कृति, स्थानीय अतिथ्य र सेवासुविधाका हिसाबले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्नेगर्छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।