इलामको अन्तुमा बढ्दो सहरीकरणले मौलिकता संरक्षणमा चुनौती

मंसिर १८, २०८० |विप्लव भट्टराई
इलामको अन्तुमा बढ्दो सहरीकरणले मौलिकता संरक्षणमा चुनौती

इलाम । घामको पहिलो झुल्को पर्ने इलामको अन्तु डाँडामा पर्यटकको ताँती लाग्ने गरेको छ । सूर्योदयको अवलोकनसँगै लोपन्मूख लेप्चा जातिको संस्कृति, हराभरा चियाबारी, कृषिले सुधारिएको जीवनशैलीका कारण ख्याती बढ्दै जाँदा अहिले अन्तु क्षेत्र सहरोन्मुख छ ।

दुई दशकअघि ग्रामीण पर्यटन विकासमा पाइला टेकेको इलामको अन्तु हाल व्यवस्थित सहरको रुपमा विकास हुने क्रममा छ । चिल्ला सडक, सुविधा सम्पन्न होटल र जताततै झिलिमिली दुई दशकमा अन्तुमा थपिएका उपलब्धी हु्न् । तराईबाट गर्मी छल्नमात्रै नभई झुल्केघामको दृष्यावलोकन तथा पहाडी रहनसहनमा रमाउन आउनेहरुका कारण अन्तुमा सहरीकरण बढेको हो । सुरुवाती दिनमा ग्रामीण पर्यटन र होमस्टेका कारण चर्चा बटुलेको अन्तुको बद्लिँदो परिवेशले यहाँको मौलिकता हराएर जाने हो कि भन्ने चिन्ता पनि स्थानीयलाई छ ।

श्रीअन्तु होमस्टेका अध्यक्ष धनकुमार आलेले प्राकृतिक कुरा हराएर जाने हो कि भन्ने चिन्ता व्यक्त गरे । उनले भने, ‘हाम्रो प्राकृतिक कुराहरु विनाश भएर जाने चिन्ता छ । सहरीकरणको योजना छैन । जहाँ जसरी जसले घर बनाए पनि भइरहेको छ । प्रकृति संरक्षण गर्दै विकास निर्माण अगाडि बढाउनु पर्नेमा त्यो हुन सकेको छैन ।’

घुमघामका लागि उपयुक्त सिजनमा दैनिक ३ हजारसम्म पर्यटक पुग्ने अन्तुमा होमस्टे र होटलको संख्या १ सयभन्दा बढी छ । बाक्लै खोलिएका होटलसँगको प्रतिष्पर्धा भने चुनौतीपूर्ण रहेको होमस्टे व्यवसायीहरु बताउँछन् । अन्तु पोखरीमा डुङ्गा सवारको व्यवस्था, हराभरा डाँडाकाँडा, विभिन्न जातजातिका संस्कृति, कञ्चनजंघा हिमालसहित नेपाल र भारतका अनेकन् भूभागको दृष्यावलोकनले अन्तुले आगन्तुकलाई लोभ्याउँछ । विराटनगरबाट घुम्न आएकी आन्तरिक पर्यटक रिना चौधरीले यहाँको रमणीय दृश्यले आकर्षित गरेको बताइन् ।

मेची राजमार्गको फिक्कलबाट १५ किलोमिटर पक्की सडक छिचोलेर पुगिने अन्तुमा व्यवसायी र पर्यटकको आर्कषण थपिनु सकारात्मक पक्ष हो । जनघनत्व बढ्दै जाँदा गाउँहरु सहर बन्ने प्रक्रियालाई पनि स्वाभाविक मान्नुपर्ने हुन्छ । तर होमस्टे र होटेलहरुबीच चलेको अस्वस्थ प्रतिष्पर्धा तथा रैथाने विशेषता मासिने गरी प्राकृतिक सम्पदाको दोहन भइरहाँदा त्यसतर्फ भने सरोकारवाला निकायले गम्भीरता देखाउन जरुरी छ । 


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।