ओझेलमा पर्यटकीय गन्तव्य रुबीभ्यालीको ‘पाङ्साङ पास’

मंसिर १६, २०८० |पोषनाथ अधिकारी
ओझेलमा पर्यटकीय गन्तव्य रुबीभ्यालीको ‘पाङ्साङ पास’

धादिङ । संघीय राजधानी काठमाडौंबाट नजिकै रहेको सुन्दर पर्यटकीय गन्तव्य हो- उत्तरी धादिङको रुबीभ्यालीको पाङ्साङ पास । लाङटाङ, अन्नपूर्ण, मनास्लु, गणेशलगायतका हिमालको मनोरम दृश्य देख्न सकिने, यो क्षेत्रसम्म पुग्ने भरपर्दो सडक नहुँदा सोचेअनुसार पर्यटक भने पुग्न सकेका छैनन् ।

काठमाडौंबाट सबैभन्दा नजिक अनि छोटो समयमै आरोहण गर्न सकिने हिमाल हो पाल्दोर पिक । गणेश हिमाल र पाल्दोर पिक आरोहणका लागि प्रयोग गर्न सकिने पदमार्गमा पर्ने मनोरम पर्यटकीय स्थल हो उत्तरी धादिङको रुबिभ्यालीमा रहेको पाङ्साङ पास । समुद्री सतहदेखि ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको पाङ्साङ पासबाट सुन्दर हिमशृंखलाहरू र हरियाली पहाडको अवलोकन गर्न सकिन्छ । यहाँबाट लाङटाङ, अन्नपूर्ण, मनास्लु, गणेशलगायतका हिमालहरूको मनोरम दृश्य देख्न सकिन्छ ।

मौसम सफा हुँदा काठमाडौंबाटसमेत देखिने मनास्लु र लाङटाङ हिमालको बीचमा रहेको गणेश हिमालको लोभलाग्दो अनुहार नजिकबाट नियाल्ने सबैभन्दा उत्तम ठाउँ पाङ्साङ पास पुग्न मुस्किलले कच्ची सडक बनेको छ । सडक सहज हुने हो भने नुवाकोट र रसुवाको स्याफ्रुबेासी हुँदै एकैदिनमा पुगिन्छ पाङसाङ पास । सदरमुकाम धादिङबेसी हुँदै पनि जान सकिन्छ तर ट्रयाक मात्रै खुलेको यस ठाउँको सडक स्तरोन्नतीमा राज्यको ध्यान नपुग्दा पर्यटक आवागमनमा बाधा छ । जसले यहाँको विकासमा समेत प्रभाव पारेको छ ।

कच्ची सडकबाट ठूलै जोखिम मोलेर पाङसाङ पास पुग्ने पर्यटकहरु यहाँको अनुपम सुन्दरता हेरेर यात्राको कष्ट बिर्सिने गर्छन् । सरकार सडक सञ्जाल सहज बनाउन चुकेको बताउने उनीहरु गतिलो सडक भएमा यो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना देख्छन् ।

मौसम सफा भएका बेला यहाँबाट २७० डिग्रीको मनोरम दृश्य देखिन्छ । प्राकृतिक सुन्दरताको अवलोकनसँगै पाङ्साङ पास हुँदै रुबिभ्यालीका तिप्लिङ, सेर्तुङ, बोराङजस्ता तामाङ बस्ती झरेपछि स्थानीय संस्कृतिसँगै मनमोहक कालो र सेतो दहको पनि अवलोकन गर्न सकिन्छ । 


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।