लयमा फर्कँदै ‘नगरकोट पर्यटन’

मंसिर ५, २०८० |नारायण किलम्बू
लयमा फर्कँदै ‘नगरकोट पर्यटन’

काठमाडौं । सङ्घीय राजधानी नजिकै रहेको पर्यटकीय गन्तव्य नगरकोट सडकको दुरावस्थाका कारण लामो समय सुनसान जस्तै बन्यो । एक दशक अघिसम्म पर्यटकको घुइँचो लाग्ने नगरकोट पछिल्ला वर्षहरूमा भने गुमनाम नै भयो । तर अहिले सडकको अवस्था सुधार गरिएपछि यहाँ चहलपहल मात्र बढेको छैन, वर्षौँदेखि पर्यटकको प्रतीक्षा गरिरहेका होटेलहरू लयमा फर्किन थालेका छन् ।

काठमाडौंबाट ३० किलोमिटर उत्तर पूर्वमा पर्ने भक्तपुरको नगरकोट मुलुककै प्रमुख पर्यटकीय स्थलको रूपमा परिचित छ । सुन्दर र प्राकृतिक छटाले भरिपूर्ण नगरकोटमा साना ठूला गरी ८० वटा होटेल छन् । दैनिक तीन हजार पर्यटकलाई आतिथ्य दिन सक्ने क्षमताका यी होटेल ९ वर्षदेखि सुनसान जस्तै थिए । 

भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्मको बाटोको दुरावस्थाका कारण यी होटेलमा पर्यटक पुग्नै छाडेका थिए । त्यसमाथि कोभिड महामारीले त यहाँका व्यवसायीलाई झन् निराश बनायो । तर अहिले सडक बनेसँगै पर्यटक पुग्न थालेका छन् । यो ठाउँमा अहिले दैनिक करिब ५ विदेशी पुग्ने गरेका छन् । शुक्रबार र शनिबार त आन्तरिक पर्यटक भरिभराउ नै हुन्छन् ।

समुद्री सतहदेखि २ हजार ७५ मिटर उँचाइमा रहेको रमणीय स्थल नगरकोटबाट सर्वोच्च शिखर सगरमाथादेखि माछापुच्छ्रे, धौलागिरि, गणेश, लाङटाङ, गौरीशंकरलगायत हिमालको अवलोकन गर्न सकिन्छ । यहाँको शान्त वातावरणसँगै सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन हेर्न पनि यो स्थान धेरैको रोजाइमा पर्ने गरेको हो । अहिले मौसम सफा भएको मौका पारेर नगरकोटमा पुग्नेहरू बढ्दा यहाँका अधिकांश होटेल भरिभराउ हुने गरेका छन् ।

नगरकोट प्राकृतिक सुन्दरताले त भरिपूर्ण छ नै सांस्कृतिक तथा पुरातात्त्विक दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण छ । ऐतिहासिक बौद्ध गुम्बा, महांकाल मन्दिर, भँगेरी दरबार र झोलेङ्गे पुलले समेत पर्यटकलाई लोभ्याउँछन् । 

लामो समय छायामा परेको पर्यटकीय गन्तव्य नगरकोटमा थप पूर्वाधार विकाससँगै प्रचारप्रसारलाई प्राथमिकता दिन सके आन्तरिक पर्यटकसमेत बढाउन सकिन्छ । त्यसका लागि स्थानीय सरकारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।