सिजन सुरु भइसक्यो, पर्यटकको बुकिङ आएन

आश्विन १, २०८० |भुपाल गुरुङ
सिजन सुरु भइसक्यो, पर्यटकको बुकिङ आएन

पोखरा । कोरोना संक्रमण फैलिनुअघि नेपालमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म पर्यटकीय सिजन चल्थ्यो । त्यसबेला पोखरामा अकुपेन्सी ७० देखि ८० प्रतिशतसम्म हुन्थ्यो । अफ सिजन गुजारिरहँदा पर्यटन व्यवसायीहरू यो पिक सिजनको सुखद् पर्खाइमा हुन्थे । तर, पछिल्लो समय पर्यटकीय चलपहल हुने मुख्य सिजन पनि सुखद् हुन छाडेको छ । यस वर्षको पिक सिजन सुरु भइसके पनि पोखराका होटेल, ट्रेकिङ तथा ट्राभल्स एजेन्सीहरूमा ३५ प्रतिशत मात्र बुकिङ भएको छ ।

विदेशीहरू घुम्ने योजना बनाएसँगै जाने ठाउँ र बस्ने होटेलको तय केही महिनाअघि नै गर्छन् । अझ पिक सिजनमा त बुकिङ महिनौं अघिदेखि हुनुपर्ने हो । तर यसपटक पिक सिजनका लागि विदेशी पर्यटकको बुकिङ उत्साहप्रद छैन । ट्रेकिङ कम्पनी र ट्राभल्स एजेन्सीहरूमा विदेशी पर्यटकको बुकिङ अपेक्षा गरेअनुसार नआएको व्यवसायीहरू बताउँछन् । एकैदिन ४० हजार पाहुना राख्ने क्षमता भएका पोखराका होटेलहरूमा यतिबेला २० प्रतिशत मात्रै अकुपेन्सी छ ।

‘अहिले करिब ७०/८० प्रतिशत होटेलको बुकिङ आइसक्ने बेला हो । तर अहिले त्यो अवस्था छैन,’ पश्चिमाञ्चल होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘बुकिङ एकदम सामान्य छ । हवाई भाडालगायतले गर्दा पनि नेपाल आउने पर्यटकहरु कम भइरहेको बुझ्न सकिन्छ ।’

मुख्य पर्यटकीय मौसम र चाडपर्वको सिजनमा खचाखच हुनुपर्ने बेला पोखराका होटेल रेस्टुरेन्टहरूमा उल्लेख्य पहुना छैनन् । पृथ्वी राजमार्गको स्तरोन्नतिको भइरहेको ढिलासुस्ती, हवाई टिकटमा कर र प्रवर्द्धनका कार्यक्रम न्यून हुनुले पर्यटक आगमनमा असर पुगेको व्यवसायीको ठम्याइ छ ।

‘राज्यले राम्ररी नीति नबनाउँदा, नीति आयो कार्यान्वयन भएन । व्यवहारमै पनि लागु हुन सकेन । यही कारणले पनि नेपालमा पर्यटकहरु आउन नसकेको हो कि भन्ने लाग्छ,’ रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल पोखराका अध्यक्ष नरेश भट्टराईले भने ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार हवाई मार्गबाट अगस्तसम्ममा ६ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल भित्रिएका छन् । यस वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले अबको तीन महिनामा चार लाख पर्यटक भित्र्याउने भनेको छ । तर त्यो संख्या अपर्याप्त भएको व्यवसायी बताउँछन् । राष्ट्रिय आँकडामा केही सुधार देखिए पनि पिक सिजन सुरु भइसक्दा पनि पोखरामा पर्यटक नदेखिनु चिन्ताको विषय बनेको छ ।

‘भारतीय र चिनियाँ पर्यटक बढीभन्दा बढी भित्र्याउन के गर्नुपर्छ, त्यसतर्फ हामी लाग्नुपर्छ । सरकार लाग्नुपर्छ । हामी सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार छौं,’ पोखरा पर्यटन परिषद्, कास्कीका अध्यक्ष पोमनारायण श्रेष्ठले भने ।

खासगरी पदयात्रा, पर्वतारोहण, धार्मिकस्थल तथा प्राकृतिक सौन्दर्यको अवलोकन तथा पर्वतीय उडानका लागि पर्यटकहरु पोखरा आउने गर्छन् । पिक सिजनमा विदेशी पर्यटक उल्लेख्य नदेखिनु र बुकिङ नबढ्नुले पोखराका व्यवसायीका लागि भने यो सिजन सुखद नहुने देखिन्छ ।

Enter Kantipur TV HD
Advertisement