आरोहीलाई सम्मान गर्दै मनाइयो १६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस (फोटो फिचर)

जेष्ठ १५, २०८० |सुरज खड्का
आरोहीलाई सम्मान गर्दै मनाइयो १६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस (फोटो फिचर)

काठमाडौं । सगरमाथा आरोहण गर्ने आरोहीलाई सम्मान गर्दै १६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ ।

सगरमाथामा पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, टान, हानलगायतले संयुक्त रुपमा आरोहीलाई सम्मान गर्दै सगरमाथा दिवस मनाएको हो ।

‘पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झना गर्दै यो दिवस मनाउन थालिएको हो,’ नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानिरु शेर्पाले भने, ‘यसले नेपाललाई विश्वभर चिनाएको छ ।’ उनका अनुसार यही समयबाटै नेपालमा पर्वतीय पर्यटनको सुखद सुरुवात भएको हो ।

अध्यक्ष शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न उपयोगी बनाउन आवश्यक रहेको धारणा राखे । उनले सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधि राष्ट्रिय-अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटक आगमन बढाउने विश्वास रहेको जनाए । 

अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सानु शेर्पा, कामिरिता शेर्पा, पासाङ ल्हामु शेर्पा (अचिता) र हरिबहादुर बुढामगरलाई नगदसहित पुरस्कृत गरिएको छ । हरेक वर्ष मे २९ लाई वर्ष सगरमाथा दिवस मनाउँदै आएको छ ।

यसपटक सगरमाथा आरोहण गर्दा ७६ करोडभन्दा बढी राजस्व संकलन भएको छ । संसारका सबैभन्दा अग्ला १४ वटा हिमाल २/२ पटक चढ्ने सानु शेर्पालाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।

त्यस्तै २८औं पटक सगरमाथा चढ्ने कामिरिता शेर्पा, सबैभन्दा अग्ला १४ मध्ये ९ वटा हिमाल चढ्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पा (अचिता) र दुवै खुट्टा गुमाएका हरि बुढामगरलाई ५०/५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठवटा छन् ।


Image

सुरज खड्का

खड्का कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement