नयाँ वर्षमा घुम्ने नेपालका यी ठाउँ (भिडियो रिपोर्ट)

चैत्र ३०, २०७९ |महेश केसी
नयाँ वर्षमा घुम्ने नेपालका यी ठाउँ (भिडियो रिपोर्ट)

रुकुम पश्चिम । नयाँ वर्ष २०८० लाई स्वागत गर्न हामी तम्तयार छौं । नयाँ वर्षमा घुम्न निस्किने चलन नेपाली समाजमा बढ्दो छ । पूर्वदेखि पश्चिमसम्म कहाँ-कहाँ घुम्न सकिन्छ त नयाँ वर्षमा ?

सूर्योदयसँगै ताप्लेजुङमा पाथीभरा माताको दर्शन गरेर पाँचथर झरे फालेलुङमा चौरीसँग रम्न पाइन्छ । अनि इलाम पुगी चियाबारीमा लुकामारी खेलेर झापा झरेपछि नेपालकै होचो स्थाल केचनाकवल पुगिन्छ ।

धरान घुमेर बुढासुब्बाको दर्शन गरी तेह्रथुम र संखुवासभाको संगमस्थल तीनजुरे-मिल्केमा थरीथरीका गुराँसको मोहकताले मन आल्हादित हुन्छ । अनि धनकुटाको भेडेटार हुँदै खोटाङको ढुंगाको गुफाभित्र रहेका हलेसी महादेव पुग्यो । सोलुखुम्बुमा सगरमाथाको आधार क्षेत्र घुमेर मधेस झर्न सकिन्छ ।

सप्तकोशी तरेर सप्तरीको छिन्दमस्ता दर्शनसागै सुरु हुन्छ मधेस प्रदेशको यात्रा । राजविराज घुमेर रुप्नीबाट सिराहको लाहान पुगेपछि सलहेस फुलबारीमा फुल्ने नयाा फुल हेरेर जनकपुरमा जानकी मन्दिरको दर्शन गर्न पाइन्छ ।

यस बीचमा बाराको गढीमाई मन्दिर पुग्न भने छुटाउनु हुँदैन । जनकपुरधामको घुमघामलगत्तै पुर्व-पश्चिम राजमार्ग हुँदै महोत्तरीको बर्दिबास पुगेपछि बीपी राजमार्ग भएर सिन्धुली पुगिन्छ ।

ऐतिहासिक सिन्धुलीगढी घुम्दै रामेछाप र दोलखा पुगेपछि भीमेश्वर, कालिञ्चोक र जिरी घुम्न पाइन्छ । अनि सिन्धुपाल्चोकबाट काभ्रे हुँदै काठमाडौं ।

संघीय राजधानीको घुमघामपछि नुवाकोट हुँदै रसुवाको गोसाईकुण्ड पुगिन्छ । नुवाकोटबाट धादिङ हुँदै चितवन राष्ट्रिय निकुन्जमा रमाउनुको मज्जा नै बेग्लै । मकवानपुरको दामन, सीमभञ्याङ र कुलेखानी घुम्न चाहिँ नछुटाउनु ।

गण्डकी प्रदेशमा सात तालको सहर पोखरा तपाईंलाई पर्खिरहेको छ । पोखरा आसपासका गोरखा अनि तनहुँको मानुङडाँडा र बन्दीपुरलाई कसरी छुटाउनु ? लमुजुङको बेसीसहर हुँदै मनाङको तिलिचो ताल त हेर्नैपर्छ । अनि फेरि पोखरा आएर पर्वतको बञ्जीमा रमाउँदै बागलुङको कालिका भगवतीको दर्शन गरी म्याग्दीको तातोपानीमा नुहाएर मुस्ताङको जोमसोम पुगिन्छ ।

स्याङजाबाट अघि बढेर पाल्पा पुगेसँगै सुरु हुन्छ लुम्बिनी प्रदेशको यात्रा । तानसेनको दरबार र रानीमहल हेरेर गुल्मी पुगे रेसुगां अनि अर्घाखाँची पुगे सुपादेउराली भेटिन्छ ।

प्युठानको स्वर्गद्वारी दर्शनपछि रोल्पा हुँदै हिमाली जिल्ला रुकुम पूर्व पुगिन्छ । पुथा, सिस्ने र चुरेन हिमालको काखमा अवस्थित यहाँको कमल ताल र ग्रामिण सुन्दरतासँग रमेर बागलुङको बुर्तिबाङ हुँदै ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि घुम्नैपर्छ । अनि गुल्मी हुँदै रिडी क्षेत्र भएर लुम्बिनी पुगिन्छ ।

गौतम बुद्धको जन्मस्थल पुगेपछि शान्तिको स्वास फेरेर पश्चिमतर्फ लाग्नुपर्छ । नेपालगञ्ज सहर घुमेर नजिकैको बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर बाघ त हेर्नै पर्‍यो ।

अनि नेपालकै लामो कर्णाली नदी चिसापानी पुग्ने बित्तिकै सुरु हुन्छ सुदूरपश्चिम प्रदेश । कैलालीको टीकापुर पार्क र घोडाघोडी ताल घुमेर अत्तरियाको बाटो हुँदै शुक्लाफाटा राष्ट्रिय निकुञ्ज पुगिन्छ । महाकाली नदीमाथि बनेको दोधारा-चाँदनी पुल हेर्न लायक छ ।

डडेल्धुराको अमरगढी किल्ला र उग्रतारा पुगेपछि बैतडीको त्रिपुरासुन्दरी दर्शन गरेर दार्चुलाको अपी हिमालको बेस क्याम्प पुगिन्छ । बझाङको सुर्मा सरोवर र साइपाल हिमाल आसपास घुमेर खप्तड पुग्ने अनि डोटीको शैलेश्वरी दर्शन गरेर अछामको रामारोशन र बैजनाथ पुग्ने । अनि बाजुराको बढीमालिका र बुढीनन्दा हुदैँ मुगुको रारा पुग्न सकिन्छ ।

जुम्लाको सिंजा र चन्दननाथको दर्शन गरी कालिकोट र दैलेख हुँदै सुर्खेत झरे हुन्छ । सल्यानको कुभिण्डे दह र जाजरकोट हुँदै डोल्पाको शे-फेक्सुन्डो ताल पुगिन्छ । यहाँ पुगेका बेला त्रिपुरासुन्दरी माताको दर्शन गरेरै फर्किँदा गज्जब अनुभव हुन्छ ।

अनि भेरी नदी तिरैतिर रुकुम पश्चिमको स्पार्पू ताल अनि जिल्ला सदरमुकाम मुसीकोट क्षेत्र घुमेपछि यहाँको डिग्रे साईकुमारी भगवतीको दर्शन गर्न सकिन्छ ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।