पदयात्रामा जाने विदेशीले अनिवार्य गाइड लैजानु पर्ने नियम आजदेखि लागु

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
पदयात्रामा जाने विदेशीले अनिवार्य गाइड लैजानु पर्ने नियम आजदेखि लागु

काठमाडौं । नेपालमा पदयात्रालाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) सुरुवात भएको छ।

नेपाल पर्यटन बोर्डमा शनिबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन् ।

नेपालको पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) सुरु गरिएको हो । सरकारले पदयात्रालाई व्यवस्थित बनाउन विदेशी पर्यटकले गाइड अनिवार्य रूपमा साथमा लैजानुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था आजैदेखि लागु भएको छ ।

पदयात्री एवं पथ प्रदर्शक वा सहयोगीको सुरक्षालाई प्रत्याभूत गर्न पदयात्रामा जाने पदयात्रीका लागि सम्बन्धित कम्पनीले (टिम्स) अनुमति पत्र लिनुपर्नेछ । अर्थात अबदेखि कोही पनि विदेशी जटिल स्थानतर्फ (विशेष गरी) हिमालय क्षेत्रतर्फ एक्लै र समूहमा मिलेर बिना गाइड जान पाउने छैनन् । तर हिमाल आरोहणमा जाने आरोहीले भने टिप्स अनुमति पत्र लिनु पर्ने छैन । अध्यागमन विभागबाट अनुमति पत्र लिइ नेपाल सरकारले तोकेका निषेधित क्षेत्रमा जाने पर्यटकको लागि टिम्स अनुमति पत्र अनिवार्य नहुने बताइएको छ ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यो व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले आफ्नै पालोमा पर्यटन क्षेत्रलाई उकास्ने प्रतिबद्धतासमेत जनाए ।

‘हाम्रो देशको आर्थिक विकासमा पर्यटन क्षेत्रबाट धेरै ठूलो योगदान भइरहेको छ, हाम्रो पालामा नै हामीले पर्यटनमा ठूलो विकास गर्नुपर्नेछ,’ उनले भने, ‘प्रविधि र पर्यटनको क्षेत्रमा हामी एक पाइला अघि बढेका छौँ । यसले अझै पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नेछ ।’

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले कोही पनि व्यक्तिले नेपालमा आजसम्म आफूले चाहेका ठाउँमा टिम लिएर जानसक्ने व्यवस्था रहेपनि अबदेखि भने अनिवार्य रुपमा पथ प्रदर्शक लैजानुपर्ने व्यवस्था लागु भएको जानकारी दिए ।

नेपालमा प्रत्येक सिजनमा घुम्न गएका पदयात्रीहरु हराउने, मृत्यु हुने घटना बढेकाले सुरक्षाका लागि यो व्यवस्था लागु गरिएको उनको भनाइ छ ।

‘पदयात्रालाई सुरक्षित बनाउन हामीले यो पथ प्रदर्शक (गाइड) अनिवार्य चाहिने व्यवस्था गरेका हौँ । आजदेखि यो प्रणाली लागु भएको छ । यसले नेपालको पदयात्राको क्षेत्र सुरक्षित हुने, रोजगारीको अवस्था सिर्जना हुने, पदयात्री भएपछि जुनकुनै पनि ठाउँमा पर्यटकहरु जानसक्ने स्थिति सिर्जना हुन्छ । नेपालको पदयात्रा अब पहिलेभन्दा बढी सुरक्षित हुनेछ ।’ उनले भने ।

त्यस्तै ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष निलहरी बाँस्तोलाले यस व्यवस्थालाई कार्यान्वयको पक्षमा लैजान संस्था प्रतिबद्ध भएर लाग्ने उल्लेख गरे ।

‘लामो समयदेखि पर्वतीय पर्यटनमा अनिवार्य गाइड भन्ने विषय उठेको थियो । तर भएको थिएन, यस पटक मन्त्रालयसहित पर्यटन बोर्ड मिलेर लागु गरिएको छ । यसलाई कार्यान्वयको पक्षमा लैजान, देशव्यापी रुपमा गम्भीर भएर कार्यान्वयन गर्नेछौँ,’ उनले भने, ‘यो सुरक्षासँग जोडिएको विषय भएकाले गम्भीर रुपमा लिन आवश्यक छ । यो स्वागत योग्य छ ।’

यो नियम लागु भएसँगै अबदेखि कञ्चनजंगा बेसक्याम्प, लुम्बासुम्बा पास ट्रेक, मकालु हिमाल बेस क्याम्प, शेर्पेनी क्लोज पास ट्रेक, एभरेस्ट बेसक्याम्प, गोकियो ट्रेक, च्छो ल्हा पास ट्रेक, गोकियो रेन्जो ला पास ट्रेक, हुम्ला लिमी भ्याली, उपर डोल्पा, राउण्ड धौलागिरी, उपर मुस्ताङ ट्रेक, अन्नपूर्ण सर्किट ट्रेक, मनास्लु हिमाल, गणेश हिमाल, लाङटाङ, गोसाइकुण्ड, हेलम्बु, पाँचपोखरी, च्छो रोल्पा लगायतका स्थलहरुमा अनिवार्य रुपमा पथप्रदर्शक आवश्यक पर्नेछ ।

यी क्षेत्रमा पदयात्रीको साथमा जाने १० वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा भने अनुमति पत्र लिनु नपर्ने जानकारी दिइएको छ। 

सम्बन्धित समाचार...

‘ट्रेकिङ गाइड र टिम्स कार्ड’ बिना विदेशी पर्यटकले एक्लै पदयात्रा गर्न नपाउने

पदयात्रामा जाने विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने (भिडियो रिपोर्ट)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.