कास्कीको 'जटायु रेस्टुरेन्ट'ले गिद्धको संख्या बढ्यो, पर्यटक पनि थपिए

वैशाख २७, २०८२ |भुपाल गुरुङ
कास्कीको 'जटायु रेस्टुरेन्ट'ले गिद्धको संख्या बढ्यो, पर्यटक पनि थपिए

कास्की । वातावरणलाई स्वच्छ राखेर महामारी फैलनबाट रोक्ने गिद्ध हाम्रो पर्यावरणका लागि उपयोगी पन्छी हो । पछिल्लो समय यसको संरक्षणका लागि भएका प्रयासहरु सार्थक हुँदै गएका छन् । 

कास्कीमा डेढ दशकअघि खोलिएको जटायु रेस्टुरेन्टले गिद्धको संरक्षणका लागि गौरक्ष केन्द्र नै राखेको छ । जहाँ दूध दिन छाडेका र बिरामी गाई–भैँसी ल्याएर राखिन्छ । कालगतिले मरेपछि तिनै पशु गिद्धको आहार बन्ने गर्छन् । आहारको व्यवस्था भएपछि यहाँ गिद्ध मात्र थपिएका छैनन् पर्यापर्यटन पनि बढेको छ ।

कास्कीको माछापुछ्रे गाउँपालिका ३ तल्लो घाचोकस्थित सेती नदी किनारमा १५ वर्षअघि गिद्ध लोप हुने अवस्थामा पुगेको थियो । आकासतिर हेर्दा मुस्किलले आक्कलझुक्कल गिद्ध घुमिरहेको देखिन्थ्यो । तर, अहिले यहाँ बाक्लो संख्यामा गिद्ध हेर्न पाइन्छ ।

सन् २०१० मा गिद्ध संरक्षण गर्ने उद्देश्यले नेपाल पन्छी संरक्षण संघले घाचोकमा सामुदायिकस्तरमा जटायु रेस्टुरेन्ट स्थापना गरेपछि गिद्ध बढ्दै गएका हुन् । 

जलवायु परिवर्तन, बासस्थानको समस्या, आहारा अभाव र मुख्य कारण भने घरपालुवा बिरामी जनावर निकोपार्न प्रयोग गरिने डाइक्लोफेनिक नामक औषधिका कारण यो पन्छी संकटापन्न अवस्थामा पुगेपछि संघको पहलमा यहाँ जटायु रेस्टुरेन्ट स्थापना गरी संरक्षण थालिएको हो ।

बर्ड लाइभ इन्टरनेसनलका वरिष्ठ एसिया साझेदार व्यवस्थापक हुमबहादुर गुरुङले गिद्धका लागि रेस्टुरेन्ट खुलेपछि यस क्षेत्रमा कहिलेकाँही मात्र देखिने गिद्ध अहिले दुई सयभन्दा बढी रहेको बताउनु भयो । 

नेपालमा पाइने ९ प्रकारका गिद्धमध्ये घाचोकमा अहिले सङ्कटापन्न अवस्थामा पुगेका सानो, खैरो, डंगर, सुन गिद्ध र आगन्तुकमा राज, सेतो, लामो ठुडे गरी सात प्रकारका गिद्ध पाइन्छन् ।

अहिले रेस्टुरेन्टभित्रै गौरक्ष केन्द्र छ । मरेका वा दूध दिन छाडेका पशु यहाँ ल्याएर राखिन्छ । हेरचाहका लागि नेपाल पन्छी संरक्षण संघले एक कर्मचारीको व्यवस्था गरिदिएको छ । केन्द्रमा भएका पशु कालगतिले मरेपछि गिद्धको आहार बन्ने गर्दछन् ।

जटायु रेस्टुरेन्टले पर्यापर्यटन पनि बढेको छ । यहाँ देश-विदेशबाट अध्ययन अवलोकनका लागि पर्यटक आउँछन् । तर, गिद्ध संरक्षणका लागि विद्युतीय तार अर्को प्रमुख चुनौती बनेको छ । यस क्षेत्रमा दुई वर्षयता हाइटेन्सन तारमा परि १६ वटा गिद्ध मरेका थिए ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।