पदयात्रामा जाने विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने (भिडियो रिपोर्ट)

चैत्र १२, २०७९ |भुपाल गुरुङ
पदयात्रामा जाने विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने (भिडियो रिपोर्ट)

पोखरा । सरकारले पदयात्रा व्यवस्थित बनाउन विदेशी पर्यटकले गाइड अनिवार्य रूपमा साथमा लैजानुपर्ने व्यवस्था गरेको छ । पदयात्रामा पथप्रदर्शक अनिवार्य हुने भएपछि गाइडहरूले राहत महसुस गरेका छन् । कोरोनाका कारण विदेशी पर्यटक नआएपछि झन्डै दुई वर्ष व्यवसाय ठप्प हुँदा धेरैले पेशा परिवर्तन गरेको अवस्थामा सरकारले नयाँ नीति ल्याएको हो ।

आगामी चैत १७ देखि पदयात्रामा जाने विदेशी पर्यटकले अनिर्वाय रुपमा साथमा गाइड लैजानुपर्ने भएको छ । यो नियम लागु हुने भएपछि पदयात्रामा काम गर्ने गाइडहरू काम पाइनेमा आशावादी छन् । यो व्यवस्थाले ट्रेकिङ गाइडको तालिम लिएर भारी बोक्नसमेत नपाएका गाइडहरूमा रोजगारी पाउने कुराले खुसी ल्याएको छ ।

ट्रेकिङका दौरान घुम्न, घुमाउन र राम्रो आम्दानी गर्न सकिने हुँदा आकर्षण बढ्दो छ । ट्रेकिङ्ग ऐजेन्सिज एसोसियसन अफ नेपाल टानका अनुसार हाल मुलुकभर तीन हजारभन्दा बढी ट्रेकिङ एजेन्सीमा २० हजार बढी गाइड आबद्ध छन् । नयाँ नियमले विदेश पसेकाहरू पनि फर्किने वातावरण बन्ने अपेक्षा गरिएको छ ।

नेपाल आउने विदेशी पर्यटकको ठूलो हिस्सा पदयात्रा र पवर्तारोहणमा जान रुचाउँछ । धौलागिरी, सगरमाथा, अन्नपूर्ण, कञ्चनजङ्घा, लाङटाङलगायत क्षेत्र पदयात्रा र पवर्तारोहणका लागि बढी रूचाइएका गन्तव्य हुन् । हालको व्यवस्थाले पर्यटकहरू आफूले चाहेको गन्तव्यमा फिट इन्डिपेन्डेन्ट ट्राभलर (एफआईटी) तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिएर सहयोगी बिनै पदयात्रामा जान पाउँछन् । ग्रुप इन्क्लुसिभ ट्राभल्स (जीआईटी) का लागि जारी हुने कार्ड लिएर समूहमा जाने व्यवस्था पनि छ । अब टिम्स कार्ड बन्द हुने भएपछि गाइड अनिर्वाय साथमा लैजानु पर्ने छ । यो नियमले ट्रेकिङ सुरक्षित र व्यवस्थित हुने दाबी छ ।

मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बर महिना पर्यटकीय सिजन हो । अफसिजनमा गाइडहरू बेरोजगार हुनुपर्ने अवस्था छ । नयाँ नियमको प्रभावकारी कार्यान्वयन हुने हो भने यो पेशामा लागेकाहरूलाई रोजगारी सिर्जना हुनुका साथै पदयात्रासमेत सुरक्षित हुनेछ । 


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।