चार सय वर्ष पुरानो सिद्धबाबा मन्दिर ओझेलमा

वैशाख १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
चार सय वर्ष पुरानो सिद्धबाबा मन्दिर ओझेलमा

गुल्मी । प्रचार प्रसारको अभावमा गुल्मीको छत्रकोट-१ हुँगामा रहेको ४ सय वर्ष पुरानो सिद्धबाबा मन्दिर ओझेलमा परेको छ । हुँगाको कछौटेस्थित सिद्धबाबा मन्दिर विसं १७०० भन्दा अगाडिको मन्दिर मानिन्छ । 

सडकको सहज पहुँच नभएको र मन्दिर पुनःनिर्माणमा पनि ध्यान नपुग्दा ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको सिद्धबाबा मन्दिर ओझेलमा परेको छत्रकोट-१ का पूर्ववडाध्यक्ष धातानन्द भण्डारीले जानकारी दिनुभयो ।

कुनै अनिष्टको संकेत देखिए बाघ आएर सिद्धबाबा मन्दिर आसपासबाट कराएर संकेत दिने र पूजाआजा तथा भाकल गर्दा त्यस्तो अनिष्ट वा विपत्तिबाट मुक्ति मिल्ने स्थानीय बासिन्दाहरू बताउँछन् । परापूर्वकालदेखि नै उल्लीखोला, टाहाटिम, बलेटक्सार, जोहाङ, चिदिपानी, अस्लेवा लगायतका क्षेत्रका बासिन्दाहरू हुँगाको सिद्धबाबा मन्दिरमा पूजाआजा गर्न आउने गरेको तर अहिले सडक र यातायातको सहज पहुँच नहुँदा ऐतिहासिक धार्मिक स्थल ओझेलमा परेको स्थानीय यमलाल भण्डारीले गुनासो गर्नुभयो ।

ओझेलमा परेको धार्मिक स्थल सिद्धबाबाको ऐतिहासिकता र महत्त्वलाई पुनःजीवन दिन गुल्मीकै रुरु गाउँपालिकको टाहाटिम तथा सत्यवती गाउँपालिकाको उल्लिखोलाबाट कछौटेको सिद्धबाबासम्म सडकको पहुँच पुर्‍याइएको छ । मन्दिर क्षेत्र पुनःनिर्माणको काम पनि थालिएको छ । तर अझै धेरै काम गर्न बाँकी रहेको छ । मन्दिर क्षेत्रमा अन्य भौतिक संरचना निर्माण गर्ने र स्तरीय सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने तथा प्रचार प्रसारलाई अझ बढाउने योजना बनाइएको छत्रकोट गाउँपालिका-१ का वडाध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिनुभयो ।

बुटवल-बुर्तिबाङ सडकको उल्लिखोलाबाट १० मिनेटमा तथा कालीगण्डकी करिडोरको रुद्रबेणीबाट आधा घण्टाको सडक दूरीमा पुग्न सकिने भएकोले पनि सरकारले हुँगाको सिद्धबाबा मन्दिरको विकास र प्रवर्द्धन गर्न लगानी गर्नुपर्ने स्थानीय बासिन्दाहरूको माग छ । गुल्मी क्षेत्रकै प्रसिद्ध र पुरातात्त्विक हिसाबले पनि महत्त्वको हुँगाको कछौटेस्थित सिद्धबाबा मन्दिरको उचित पुनःनिर्माण र प्रचार प्रसार हुन सकेमा यो क्षेत्र पर्यटकीय र धार्मिक गन्तव्य बन्नसक्ने स्थानीय बासिन्दाको अपेक्षा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.