रूस-युक्रेन युद्ध : रूसी सेनामा भर्ती भएका थप २३ नेपालीको मृत्यु

युद्धमा मारिने नेपालीको संख्या ७३ पुग्याे
वैशाख ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
 रूस-युक्रेन युद्ध : रूसी सेनामा भर्ती भएका थप २३ नेपालीको मृत्यु

काठमाडौं । रूसी सेनामा भर्ती भएर युक्रेन युद्धमा संलग्न थप २३ जना नेपालीको मृत्यु पुष्टि भएको छ । मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराउँदै युद्ध मोर्चामा खटिएका थप २३ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

गत पुस ९ यता थप २३ जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै रूसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ७३ पुगेको छ । रूस-युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझैं ५० जनाको रिपोर्ट आउन बाँकी छ ।

दूतावासले मन्त्रालयमा पठाएको विवरणअनुसार पछिल्लो पटक मृत्यु हुनेमा नवलपरासीका हेमकुमार मगर, दार्चुलाका ललितसिंह डोबल, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुनको छन । 

यस्तै मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्यूठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर घर्ती, बैतडीका अर्जुनदत्त भट्ट, सुर्खेतका सुजन शर्मा र रुकुम पश्चिमका रामकुमार बुढामगरको पनि मृत्यु भएको छ ।

ठेगाना नखुलेका अन्य १० जनामा लरबहादुर बुढा, नेत्रबहादुर थापा, विकास राई, रूपक राई, महेन्द्र मल्ल, अशोक जीसी, अमृत थापा आलेमगर, उदयराज थारू, प्रितम राई र प्रेमबहादुर लुंगेलीमगर छन । 

कन्सुलर विभागले मृत्यु प्रमाणित भइसकेकाका परिवारलाई सम्पर्क गरी जानकारी दिएको छ । उनीहरू एक वर्षदेखि परिवारको सम्पर्कमा थिएनन् । रूसले गत वर्षको चैतदेखि नै रूसी सेनामा कार्यरत नेपाली नागरिकको पहिचानका लागि पारिवारिक सदस्यको डीएनए नमुना पठाउन भनेको छ । 

उसले बेपत्ता नेपालीको नामसहितको विवरण पठाउन थालेको छ । रुसले पठाएको विवरणअनुसार नेपालबाट पठाइएका डीएनए नमुनामध्ये पछिल्लो पटक ८ जनाको मिलेको छ । 

जसमा नवलपरासीका हेमकुमार, दार्चुलाका ललितसिंह, सल्यानका ताराप्रकाश, मोरङका रोनल, प्यूठानका भीमबहादुर, म्याग्दीका छमबहादुर, बैतडीका अर्जुनदत्त र सुर्खेतका सुजन रहेका छन । कन्सुलर विभागले चैत २०८० र असोज २०८१ मा ५८ जनाका परिवारको डीएनए नमुना परीक्षणका लागि पठाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.