पर्यटन विकासको लागि होमस्टे : सरकारले ध्यान नदिँदा फस्टाउन सकेन (भिडियो)

चैत्र ५, २०७९ |किरण अधिकारी
पर्यटन विकासको लागि होमस्टे : सरकारले ध्यान नदिँदा फस्टाउन सकेन (भिडियो)

काठमाडौं । पर्यटनमार्फत् ग्रामीण क्षेत्रका नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यले २५ वर्षअघि स्याङजाको सिरुबारीबाट होमस्टे अवधारणा सुरु भयो । अहिले काठमाडौंसहित देशका ६० जिल्लामा यसको विस्तार भइसकेको छ । स्थानीय कला संस्कृतिको प्रबर्द्धनसँगै रोजगारी सिर्जना गर्न सकिने भए पनि सरकारले पर्याप्त रुपमा यसको विस्तारमा ध्यान दिन सकेको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०१६ मा सार्वजनिक गरेको १० वर्षे राष्ट्रिय पर्यटन रणनीतिक योजनामा पनि होमस्टे पर्यटनको विकास, प्रवर्द्धन र सञ्चालनका लागि विशेष जोड दिइएको छ । तर अवधारणा भित्रिएको साढे २ दशक बितिसक्दा पनि होमस्टे अपेक्षाकृत रुपमा विस्तार हुन सकेको छैन । नेपाल होमस्टे एसोसियसनकाअनुसार हाल देशभर १८ सय घरका ३ हजार ६ सय कोठामा मात्र होमस्टे सन्चालनमा छन् ।

होमस्टे सञ्चालन कार्यविधिअनुसार होमस्टे व्यक्तिगत रुपमा या सामूहिक रुपमा सञ्चालन गर्न सकिन्छ । स्थानीय तहले निश्चित शुल्क लिई दर्ता गर्ने गर्छन् । यसका लागि सफा भान्सा, शौचालय, बाथरुम, सञ्चारका सुविधादेखि खानाको गुणस्तर र मेनुसम्मका न्युनतम मापदण्ड तोकिएका छन् । दर्ता भएका होमस्टेलाई पर्यटकसँग गरिने व्यवहारलगायतका तालिम भने पर्यटन बोर्डले दिने गरेको छ ।

होमस्टेले स्थानीयको आयआर्जन र जीवनस्तर सुधारमा योगदान गरेका छन् । स्थानीय रितिरिवाज, परिकार, कला संस्कृति र रहनसहन प्रवर्द्धन पनि भइरहेका छन् । तर, काठमाडौं उपत्यकाका तीनै सहर पर्यटकीय हिसाबले महत्वपूर्ण भएर पनि यही नै होमस्टे फस्टाउन सकेका छैनन् । काठमाडौंमा १८ वटा र ललितपुरमा ४ वटा होमस्टे सञ्चालनमा आएको होमस्टे एसोसिएसनको तथ्यांक छ । थोरै संख्यामा भए पनि आयआर्जनमा सघाएकोमा भने सञ्चालक सन्तुष्ट नै छन् ।

नेपालमा स्थानीय पर्यटन विकासका लागि होमस्टेको महत्वपूर्ण भूमिका छ । आयआर्जन र स्थानीय कला संस्कृति, रहनसहन, रितिरिवाज प्रवर्द्धन गर्ने राम्रो अवसर पनि हो यो । तर, पर्यटन बोर्डसहित प्रदेश तथा स्थानीय तहले यो अवधारणालाई विस्तार गर्नेतर्फ अझै ध्यान दिएका छैनन् ।

यसलाई समृद्धिको प्रमुख माध्यम बनाउन ढिला भएन र ? 


Image

किरण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।