
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्नेबारे ह्वाइट हाउसले प्रस्ताव गरेको योजनाका कारण कीभले अमेरिकी समर्थन गुमाउने खतरा बढेको चेतावनी दिनुभएको छ ।
शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले आफ्नो मुलुक अब अत्यन्तै कठिन छनोट को मोडमा पुगेको बताउनुभएको हो । देशले गरिमा गुमाउने वा प्रमुख साझेदार गुमाउने जोखिम मोल्ने जस्तो चुनौतीपूर्ण निर्णय लिनुपर्ने अवस्था आएको भन्दै उहाँले यो समय युक्रेनको इतिहासकै सबैभन्दा कठिन क्षणहरूमध्ये एक भएको जिकिर गर्नुभयो । विस्तृतरूपमा चुहिएको अमेरिकी शान्ति योजनामा कीभले पहिलेदेखि नै अस्वीकार गर्दै आएका प्रावधानहरू राखेको भेटिएको छ । प्रस्तावअनुसार युक्रेनले अहिले नियन्त्रणमा राखिरहेको पूर्वी क्षेत्रको केही भाग छोड्नुपर्ने, सेनाको आकार ठूलो मात्रामा घटाउनुपर्ने र नाटोमा नजोडिने प्रतिबद्धता जनाउनुपर्नेछ ।
यी शर्तहरू रूसका पक्षमा बढी सकारात्मक देखिएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अमेरिकी प्रस्ताव शान्ति सम्झौताका लागि आधार बन्न सक्ने बताउनुभएको छ ।
शुक्रबार सुरक्षाअधिकारीहरूसँगको बैठकमा रूसी राष्ट्रपति पुटिनले अमेरिकाको शान्ति योजना आफूहरूलेप्राप्त गरिसकेको पुष्टि गर्नुभयो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेयुक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी योजना मन पराउनै पर्ने टिप्पणी गर्दैनभए युक्रेन–रूस युद्ध नरोकिने चेतावनी दिनुभएको छ । युक्रेन अहिले अमेरिकीअत्याधुनिक हतियार र वाशिङ्टनले उपलब्ध गराइरहेको जासुसी सहयोगमा निर्भर छ। यीसहयोगबिनै रूसका घातक हवाई आक्रमणहरू रोक्नु अत्यन्त कठिन हुने युक्रेनीअधिकारीहरू बताउँदै आएका छन् ।