इलामको सन्दकपुरमा पर्यटन प्रबर्द्धनको थालनी (भिडियो रिपोर्ट)

फाल्गुन २१, २०७९ |विप्लव भट्टराई
इलामको सन्दकपुरमा पर्यटन प्रबर्द्धनको थालनी (भिडियो रिपोर्ट)

इलाम । इलामको सन्दकपुर पर्यटनका लागि अथाह सम्भावना भएको स्थान हो । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि कञ्चनजंघा र नेपाल अनि भारतका अनेकौं स्थान देख्न सकिने, रेडपाण्डा र काँडेभ्याकुर जस्ता दुर्लभ जीवजन्तुको बासस्थानका कारणले प्रख्यात यो क्षेत्रमा धार्मिक पर्यटन प्रबर्द्धनको काम पनि थालिएको छ ।

सन्दकपुर गाउँपालिका - ५ जमुनामा बनेको भव्य गुम्बाले यहाँ पुग्ने जो कोहीको पनि ध्यान तान्ने गरेको छ । हरियाली डाँडाकाँडाबीचको समतल जमिनमा स्थानीयकै पहलमा यो गुम्बा बनेको हो ।

कन्काई माईको उद्गमस्थल सन्दकपुरसहित रामसार क्षेत्रमा सूचीकृत धार्मिक र जैविक महत्वको माइपोखरी, बौद्ध धर्मालम्बीहरुको अध्ययन केन्द्र माबुको डुक्ख्याङ गुम्बा, जिल्लाकै अग्लो टोड्के झरना, स्थानीयले संरक्षण र विस्तार गरेको ढापपोखरी जस्ता स्थान अब्बल पर्यटकीय क्षेत्र हुन् । पछिल्लो समय स्थानीयले बनाएको गुम्बाले धर्मअनुरागीको मन तानेको छ । नवनिर्मित साङ्छोलिङ गुम्बाले धार्मिक पर्यटनमासमेत मद्दत पुग्ने विश्वास गरिएको छ ।

मठ, मन्दिर, गुम्बालगायत निर्माणमा राज्यले धेरै खर्च गरेको गुनासो चुलिरहँदा जमुनाका बासिन्दाले भने आफ्नै लगानीमा धार्मिक सद्भाव र पर्यटकीय गतिविधि बढाउने उद्देश्य राखेर गरेको पहल अनुकरणीय छ । यस्ता सम्पदाको उचित संरक्षण गर्दै धार्मिक पर्यटनलाई बढावा दिनेतर्फ सरोकारवालाले पनि ध्यान पुर्‍याए स्थानीयलाई प्रत्यक्ष फाइदा हुने निश्चित छ ।  


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।