
रूपन्देही । युवालाई रोजगारीमा जोड्न के गर्ने ? यसका अनेक उपाय हुन सक्छन् । तर, लुम्बिनीमा भने लुम्बिनी सीप च्याम्पियनसिपकै आयोजना गरिएको छ ।
यी युवा विद्यार्थी आफैले प्राविधिक सीप सिकेर आफूले तयार गरेका सामाग्री प्रदर्शन गरीरहेका छन्। कसैले जडान र मर्मत सम्भारका काम प्रयोगात्मक रूपमा देखाइ पनि रहेका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अटो मेकानिकल, आईटी र होटल म्यानेजमेन्ट विषयका विद्यार्थीहरु आफ्नो सीप कसरी प्रभावकारी रुपमा देखाउने अभ्यास गरीरहेका छन् ।
रूपन्देही उद्योग संघले युवालाई प्राविधिक शिक्षा, सीप विकास र रोजगारीमा जोड्ने उद्देश्यले रूपन्देहीमा आयोजना गरेको लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ मा प्राविधिक सीप सिकेका युवा विद्यार्थीले आफ्नो सीप प्रदर्शन गरेका हुन्।
प्राविधिक सीप सिकेका युवालाई रोजगारीमा जोड्ने, सीप सिक्दै गरेका युवाको मनोबल बढाउने र विद्यालाई प्राविधिक सीप सिक्न प्रेरित गर्ने उद्देश्यले लुम्बिनी सीप च्याम्पियनसिप आयोजना भएको हो । शुक्रबार रूपन्देहीको तिलोत्तमामा भएको च्याम्पियनसिपमा लुम्बिनीका १२ जिल्लाबाट प्राविधिक सीप सिकेका र सिक्दै गरेका करिब एक हजार विद्यार्थी सहभागी भए ।
युवाको सीप हेर्न तथा सीपयुक्त युवालाई रोजगारीमा जोड्न सघाउन भन्दै उद्योगी-व्यवसायी, शिक्षालय तथा सरोकारवाला निकायको सहभागिता रह्यो । सामाजिक विकास मन्त्रालयको समन्वय र इन्स्योर परियोजनाको सहकार्यमा भएको सीप च्याम्पियनसीपमा उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध सीपबीच रहेको असन्तुलन हटाउन रोजगारदाता र युवाबीच छलफल र परामर्श पनि गरियो ।
स्वदेशी उद्योगका उत्पादन तथा सेवासम्बन्धी प्रदर्शनीसमेत राखिएको च्याम्पियनसिपमा सहभागी हुन पाउदा सीप सिकेका र सिक्दै गरेका युवा हौसिएका थिए । युवालाई प्राविधिक सीप सिकाउने मात्र होइन सिकेका सीपको प्रदर्शन, प्रतिस्पर्धा र रोजगारदाताबीचको छलफलले युवालाई सीप, प्रविधि र रोजगारीसँग जोड्न मात्र होइन युवालाई स्वदेशमै राख्न उद्योगी व्यवसायीलाई दक्ष जनशक्ति पाउन सहज हुन्छ।