काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जति सक्दो छिटो फाइभ-जी नेटवर्क सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्रधिकरणलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा मंगलबार आयोजित एनटिसी र एनटीएको २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरूङले फोर-जी विस्तार व्यापाक बनाउँदै फाइभ-जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिनुभएको हो ।
आफू मन्त्री भएलगत्तै पटक-पटक फाइभ-जी नेटर्वक सुरू गर्न भन्दै आएको स्मरण गराउँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले आफूले निर्देशन दिएको एक वर्ष पुगिसक्दा पनि कार्यसम्पादन नहुनु दुःखद् विषय भएको बताउनुभयो । उहाँले अब भने चाँडोभन्दा चाँडो नेटर्वक विस्तारमा गर्नुपर्ने बताउनुभयो ।
छलफलका क्रममा मन्त्री गुरूङले नेपाल टेलिकम सैद्धान्तिक रूपले मात्रै जिल्लाभर पुग्नु प्रयाप्त नरहेको स्पष्ट पार्नुभयो । उहाँले फोर-जी नेटर्वक हरेक जनताका घरघरमा पु¥याउने काम प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
साथै, इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजिटल फ्रेमवर्क उद्देश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महसुस गर्नबाट वञ्चित रहने र डिजिटल सुशासन कायम गर्न चुनौती देखापर्ने हुँदा दूरसञ्चार विस्तारमा ढिलासुस्ती नगर्न मन्त्री गुरूङले आग्रह गर्नुभयो ।
त्यसैगरी उहाँले राजमार्गमा देखापर्ने नेटवर्क असुविधा कम गर्न पनि एनटिए र एनटिसीलाई ध्यानाकर्षण गराउनुभयो । जहाँ जनतालाई अत्यन्त नेटर्वकको जरूरी हुन्छ, त्यहाँ सेवा विस्तारमा चनाखो हुन पनि मन्त्री गुरूङले जोड दिनुभयो ।
पर्यटन प्रवर्द्धन गर्न इन्टरनेट र टेलिफोन सुविधाको अत्यन्त जरूरी हुने उल्लेख गर्दै मन्त्री गुरूङले पर्यटकीय गन्तव्यमा नेटवर्क विस्तार प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
उहाँले नेपाल टेलिकमको प्रचारप्रसार गतिविधि निकै कम भएको औँल्याउँदै शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा प्रचार गरेर एनटिसीबारे जनतालाई सूसुचित गराउन अनुरोध गर्नुभयो ।
छलफलमा सञ्चार सचिव राधिका अर्यालले एनटिएले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्ने अनुरोध गर्नुभयो । उहाँले सूचनाप्रविधिको क्षेत्रमा नवीन कार्य गर्दै आएका युवा पुस्तालाई हौसला प्रदान गर्ने खालका कार्य योजनासमेत बनाउन निर्देशन दिनुभयो ।
एनटिएका अध्यक्ष भूपेन्द्र भण्डारीले फाइभ-जी नेटवर्क सञ्चालन गर्नेकार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अब केही समयमै बोलपत्र प्रक्रिया थालनी गरेर नेटर्वक विस्तार गर्ने उहाँले बताउनुभयो ।
एनटिसीका निमित्त प्रबन्ध निर्देशक सविना मास्के(प्रधान)ले पनि फोर-जी विस्तार निरन्तर कार्य भइरहेको र फाइभ-जी लन्च गर्ने तयारीमा जुटेको बताउनुभयो ।-रासस