धादिङ धुनीबेसीस्थित जर्मन प्राविधिक शिक्षालयमा विद्यार्थीको बढ्दो आकर्षण

जेष्ठ ५, २०८२ |पोषनाथ अधिकारी
धादिङ धुनीबेसीस्थित जर्मन प्राविधिक शिक्षालयमा विद्यार्थीको बढ्दो आकर्षण

धादिङ । धुनीबेसीस्थित ढकाल खोलामा केही वर्षअघि सुरु भएको जर्मन प्राविधिक शिक्षालयले जुनियर इन्जिनियरिङको पढाइका साथै तालिम सुरु गरेको छ । स्वदेशमा दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक शिक्षाको अभावमा सीपबिना विदेश जानुपर्ने वाध्यताको अन्त्य गर्न भन्दै अहिले जुनियर इन्जिनियरिङको पढाइ समेत सुरु गरेको हो ।

युरोपेली संघ-संस्थाको सहयोगमा ५० करोड मूल्य बराबरका उपकरण ल्याई काठमाडौं विश्व विद्यालय र स्थानीय तहको समन्वयमा जर्मन प्राविधिक शिक्षालयले केही वर्षअघि जलविद्युतका क्षेत्रमा काम गर्ने जनशक्तिका लागि प्रयोगात्मक कक्षा सञ्चालन गरेको थियो । 

शिक्षालयले अहिले धुनीबेसीस्थित त्रिकुटेश्वरी माध्यामिक विद्यालयसँगको सहकार्यमा जुनियर इन्जिनिरिङको कक्षा सुरु गरेको हो । शिक्षालयमा अहिले कक्षा ९ देखि नै इन्जिनिरिङसम्बन्धी पढाइ हुन्छ । देशमा नै बसेर काम गर्न सकिने अभिप्रायले यहाँ अहिले विभिन्न जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।

शिक्षालयलाई दीगो र व्यवस्थित गर्न जुनियर इन्जिनियरिङ कक्ष सुरु गरिएको धुनीवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य बताउनु हुन्छ ।

शिक्षालयले प्राविधक शिक्षामा गरेको प्रयास देखेर उत्साही भएको नगरपालिकाले प्राविधिक शिक्षामा जोड दिने नीति लिएको छ । प्राविधिक शिक्षालाई प्रोत्साहनका लागि कतिपय विद्यार्थीको खर्चसमेत नगरपालिकाले बेहोर्दै आएको छ ।

जर्मन प्राविधिक शिक्षालयका शिक्षक रमेश कँडेल भन्नुहुन्छ, 'विद्यार्थीका लागि आवश्यक पर्ने सबै खाले ल्याब तथा उपलकरणको व्यवस्थापन गरिएकाले यहाँ प्राविधिक पढाइप्रति विद्यार्थीको आकर्षण छ '

जुनियर इन्जिनियरिङ कक्षामा ५८ जना विद्यार्थीले प्रवेश परीक्षा दिएको र तीमध्येबाट पहिलो चरणमा ४५ जनालाई अध्यापन सुरु गरिएको छ । ९ कक्षादेखि १२ कक्षासम्म चार वर्षसम्म प्राविधिक शिक्षा प्रदान गरिसकेपछि विद्यार्थीका लागि रोजगारीको अवसर पनि उपलब्ध गराउने बताइएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।