नवौं आईसीटी अवार्डको अनलाइन नोमिनेसन सुरु, यी हुन् आवेदन दिने विधाहरु

श्रावण ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
 नवौं आईसीटी अवार्डको अनलाइन नोमिनेसन सुरु, यी हुन् आवेदन दिने विधाहरु

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रुपमा परिचित आईसीटी अवार्डको नवौं संस्करणका लागि अनलाइन आवेदन खुल्ला भएको छ । आवेदन साउन १ गतेदेखि खुल्ला भएको हो ।

लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आईसीटी अवार्ड’मा यस वर्ष थप एक विधासहित १४ विधाहरुमा नोमिनेसन खुल्ला गरिएको हो । ‘सोसियल इन्नोभेसन आईसीटी अवार्ड २०२४’ यस वर्ष थप गरिएको विधा हो ।

प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन, प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरुका डिजिटल सेवाहरू र डिजिटल शिक्षालाई यस अवार्डले समेटेको छ । योगदानको आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई फरक-फरक अवार्ड विधा अन्तर्गत नोमिनेसन र छनौट गरिनेछ । गत दुई वर्षदेखि दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप अवार्ड पनि आईसीटी अवार्डभित्र समावेश भएको छ ।

दर्जनौ प्रि इभेन्ट र छनौट प्रक्रियाका ३० बढी मिटिङ र विभिन्न वैज्ञानिक प्रकृयाहरु अपनाएर आईसीटी अवार्डका विजेताहरुको छनौट गरिनेछ । १५ बढी जुरी सदस्य र १० बढी जुरी सल्लाहकार रहने यस अवार्डको तयारीको लागि आयोजकले ६ महिनाको समय व्यतित गर्दै आइरहेको संस्थाका अध्यक्ष राजन लम्सालले जानकारी दिनुभयो ।

सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । गत वर्षदेखि आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्ने गरी ‘प्रोभिन्सियल आईसीटी स्टार्टअप रिकग्निसन’ सुरु गरेको थियो । यस वर्षपनि सातै प्रदेशका स्टार्टअप र इन्नोभेसनलाई समेट्ने गरी स्टार्टअप फेस्ट आयोजना र प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिने छ ।

अवार्डमा क्याटेगोरी ए अन्तगर्त स्टार्टअप, इन्नोभेसन र प्रडक्टहरुलाई समावेश गरिएको छ । यस अन्तर्गत स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड र सोसियल इन्नोभेसन आईसीटी अवार्ड विधाहरु रहेका छन् । यी विधाहरुमा स्वंम प्रतिस्पर्धी आफैले आवेदन दर्ता गर्नुपर्नेछ । 

क्याटेगोरी बी अन्तर्गत आईसीटीमार्फत समाज र राष्ट्रको लागि पुर्‍याएका योगदानका आधारमा अवार्डमा आवेदन लिने गरिन्छ । यस विधा अन्तर्गत प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड, पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर्स आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र नेपाली डायस्पोरा आईसीटी अवार्ड विधाहरु रहेका छन् । यी विधाहरुमा स्वंम आफैँ वा अरु कसैले पनि व्यक्तिको विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिने छ ।

यसैगरी क्याटेगोरी सी अन्तर्गत सरकारी र निजी संस्थाहरुको डिजिटल रुपान्तरण तथा यसका लागि भएका प्रयास र अभ्यासहरुलाई हेरेर नोमिनेसन छनौट गरिने छ । यस अन्तर्गत डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड(प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड विधाहरु रहेका छन् ।

अन्तर्राष्ट्रिय अवार्डको रुपमा साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड पनि सञ्चालन भइरहेको छ । गत २ वर्षदेखि सञ्चालन भएरहेको यस अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, नेपालका स्टार्टअपहरुले आवदेन दिन सक्ने छन् ।

अवार्डको आधिकारिक वेबसाइट www.ictaward.org बाट अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक लिभिङ विथ आईसीटीले जानकारी दिएको छ । नोमिनेसन दर्ता गर्ने अन्तिम मिति भदौ १५ गतेसम्म रहेको छ ।

यी हुन् आईसीटी अवार्ड २०२४ का लागि नोमिनेसन खुल्ला भएका अवार्डका विधाहरु

१. स्टार्टअप आईसीटी अवार्ड २०२४

२. प्रडक्ट आईसीटी अवार्ड २०२४

३. राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२४

४. सोसियल इन्नोभेसन आईसीटी अवार्ड २०२४

५. प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२४

६. पायोनियर आईसीटी अवार्ड २०२४

७. नेपाली डायस्पोरा आईसीटी अवार्ड २०२४

८. आन्टरप्रेनर आईसीटी अवार्ड २०२४

९. वुमन आइकन आईसीटी अवार्ड २०२४

१०. डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर) २०२४

११. डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइभेट सेक्टर) २०२४

१२. डिजिटल गभर्नेन्स आईसीटी अवार्ड २०२४

१३. डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२४

१४. साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२४


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.