सूचना प्रविधि क्षेत्रमा नेपालमा २५ प्रतिशत महिला

अध्ययन गर्नेको संख्या बढ्दै
ठुला कम्पनीमा महिला नेतृत्व थपियो
वैशाख ३०, २०८१ |जितेन्द्र झा
सूचना प्रविधि क्षेत्रमा नेपालमा २५ प्रतिशत महिला

काठमाडौं । पछिल्लो समय नेपालमा सूचना प्रविधि विषय अध्ययन गर्ने महिलाको संख्या बढ्दै गएको छ । सूचना प्रविधि क्षेत्रमा महिला सहभागिता पनि बढिरहेको छ । कतिपय ठुला कम्पनीमा समेत महिलाले नेतृत्व सम्हाल्दै आफूलाई अब्बल साबित गरिरहेका छन् । यस क्षेत्रमा महिला थप सहभागिता बढाउन र भएका महिलालाई प्रोत्साहित गर्न सरकारले प्राथमिकता दिनुपर्ने जानकारहरुको भनाइ छ ।

नेपालमा पछिल्लो समय सूचना प्रविधिका विभिन्न विधा पढेर यसलाई नै करिअर बनाउनेको संख्या बढिरहेको छ । कतिपय सूचना प्रविधिसँग सम्बन्धितठुला कम्पनीहरुमा समेत महिलाले नै नेतृत्व गरिरहेका छन् । ३० वर्षअघि दूरसञ्चार संस्थानमा प्रवेश गरेकी संगीता पहाडी अहिले सरकारी स्वामित्वको नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक छिन् । नेपाल दूरसञ्चार प्राधिकरणमा ६ जना महिला प्राविधिक छन् ।

प्राविधिक क्षेत्रमा महिलाको क्षमतालाई कम आँक्ने प्रवृत्ति पनि छ । यसले महिला सहभागितालाई नै निरुत्साहित गर्न सक्छ । विद्यालय तहमै छात्रालाई विज्ञान, प्रविधि र इञ्जिनियरिङ्ग विषय पढ्न प्रोत्साहन गरेमा यस क्षेत्रमा महिलाहरुको संख्या बढाउन सकिने बताइन्छ ।

नेपालको सरकारी नीतिले महिलालाई सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने कुरा गरे पनि यस अनुरुप काम भने हुन सकेको छैन । सूचना तथा सञ्चार प्रविधि नीति र ब्रोडब्याण्ड नीतिले सूचना प्रविधिमा महिलालाई प्राथमिकता दिने प्रावधान समेटेको छ । तर त्यसलाई कार्यान्वयन गर्न सरकारसँग निश्चित बजेट र कार्यक्रम भने छैन । 

सूचना प्रविधि क्षेत्रका विज्ञ महिलाहरुले अब सरकारले आगामी नीति तथा कार्यक्रममा महिलालाई लक्षित गरी सूचना प्रविधि क्षेत्रको विकासका कुरा समेट्नुपर्ने सुझाव दिन्छन् । डिजिटल साक्षरता अभियान सञ्चालन गर्दा कम्तीमा ५० प्रतिशत महिलाहरुको सहभागिता सुनिश्चित गर्ने, सूचना प्रविधिको क्षेत्रमा महिलालाई छात्रवृत्ति, तालिम, इन्टर्नसिप, सहुलियतपूर्ण ऋण आदिको व्यवस्था गर्न सके यो क्षेत्रलाई महिलाका लागि सुरक्षित र भरपर्दो बनाउन सकिने उनीहरुको तर्क छ । तर, घरायसी कामको बोझ महिलामाथि नै थोपर्ने प्रवृत्तिले पढेलेखेका कतिपय महिलासमेत यो क्षेत्रबाट बाहिरिनु परेको कतिपय उदाहरण छन्।

आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ५० अर्बको आइटी सेवा निर्यात भएको सरकारी तथ्यांक छ । यस्ता निर्यात कम्पनीमा महिलाहरुको संख्या उल्लेख्य छ । सूचना प्रविधि क्षेत्रमा नेपालमा २५ प्रतिशत महिला रहेकोसमेत अध्ययनले देखाएको छ । विश्व आर्थिक मन्चले प्रकाशित गरेको रिपोर्टमा भने नेपालमा सूचना प्रविधि क्षेत्रमा महिलाको नेतृत्व खस्किँदो अवस्थामा रहेको देखाइएको छ ।  


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।