प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बुझाउने

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा आजको बैठकले सरकारलाई समसामयिक जनसरोकारका विभिन्न विषय समावेश गरी सरकारलाई ज्ञापनपत्र बुझाउने सहमति गरेको एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको बैठकले बाढीपहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बैठकमा समसामयिक विषयमा छलफल भएको जानकारी दिनुभयो । “खासगरी प्रतिपक्षी पार्टीको तर्फबाट जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेस गर्ने भन्ने समझदारी भएको छ”, नेता बस्नेतले भन्नुभयो ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरु महन्त ठाकुर, प्रभु साह, रास्वपा सभापति रवि लामिछाने तथा उपसभापतिहरु डिपी अर्याल र डा स्वर्णिम वाग्ले नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठको सहभागिता रहेको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.