निर्वाचन, सामाजिक सञ्जाल र एआई : चुनौती कति ? अवसर कति ?

भाद्र २०, २०८१ |विकास आचार्य
निर्वाचन, सामाजिक सञ्जाल र एआई : चुनौती कति ? अवसर कति ?

काठमाडौं । कृत्रिम बौद्धिकता र सामाजिक सञ्जालको दुरुपयोग विश्वकै लागि चुनौती बनिरहेको छ । यसले निर्वाचनमा पनि समेत प्रभाव पारेको ठहर एसियाली ८ देशका निर्वाचन आयोगले गरेका छन् । 

काठमाडौंमा सम्पन्न दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन गर्ने निकायहरूको साझा मञ्च फेम्बोस्लेको १२ औँ बैठकले कृत्रिम बौद्धिकता र सामाजिक सञ्जालको दुरुपयोग रोक्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् । 

सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता अर्थात् एआईले विश्वभर अवसर मात्र होइन समस्या पनि निम्त्याइरहेको छ । निर्वाचन प्रक्रियामा पनि यसले प्रत्यक्ष प्रभाव पारेको छ । निर्वाचन पूर्व हुनुपर्ने तयारीको साटो सामाजिक सञ्जाल र एआईले कृत्रिम बौद्धिकताको प्रयोग गरेर उम्मेदवार, पार्टी र नेतृत्वलाई बदनाम गरिएको प्रति निर्वाचन आयोग चनाखो हुनुपर्ने निष्कर्ष फेम्बोस्लेको १२ औँ बैठकले निर्णय गरेको हो ।

एआईले तोकिएका समूहलाई निशाना बनाएर निर्वाचनमा गलत सूचना र समाचार प्रवाह गरिरहेको निर्वाचनमा सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता विज्ञ ऐन्टोनियो स्पेनलीले बताउनु भयो । ‘विश्वभर नै फेक सामग्री बनाएर मतदाता प्रभावित पार्ने गरेका छन्,’ उहाँले भन्नुभयो । 

बैठकमा निर्वाचन र बसाईसराई, निर्वाचन र जलवायु परिवर्तनका विषयमा पनि छलफल भएको थियो । विदेशमा रहेका आफ्ना मतदातालाई मतदानको अधिकार सुनिश्चित गराउने प्रतिबद्धता पनि बैठकले गरेको छ । 

यसैगरी जलवायु परिवर्तनले मतदान प्रक्रियामा पारेको असरलाई न्यूनीकरण हुने गरी निर्वाचन गराउने, मौसमको पूर्वानुमान हेरेर चुनावको मिति तय गर्न पहल गर्ने र कार्बन उत्सर्जन कम गर्न शक्ति राष्ट्रहरूको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।

दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन गर्ने निकायहरूको साझा मञ्चले गरेका निर्णय सम्बन्धित देशका सरकारलाई समेत बुझाइने छ । यसले निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित वातावरण मैत्री हुने अपेक्षा गरिएको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement