मौसम खराबीका कारण पाँचौ दिन पनि मन्थली-लुक्ला उडान हुन सकेन

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
मौसम खराबीका कारण पाँचौ दिन पनि मन्थली-लुक्ला उडान हुन सकेन

काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा आज पाँचौँ दिन पनि मन्थली-लुक्ला उडान हुन सकेको छैन ।

गत सोमबारदेखि मन्थलीमा रोकिएका धेरै पर्यटकहरू अझै मौसम खुल्ने र लुक्ला उडान हुने प्रतीक्षामा छन् । खुम्बु क्षेत्रमा मौसम खराब नै रहेका कारण पर्यटक समस्यामा परेको रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका उपप्रवन्धक हिरण साहले बताउनुभयो ।

गत सोमबारदेखि मौसम खराबीले मन्थली-लुक्ला उडान हुन नसक्दा एक हजार भन्दा बढी पर्यटक रामेछाप सदरमुकाम मन्थलीमै रोकिएका थिए । मन्थलीमा रोकिएका मध्ये हिजो १३५ जना पर्यटकलाई हेलिकोप्टर मार्फत सोलुखुम्बुको फाप्लु र सुर्के पुर्‍याइएको थियो ।

रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका अनुसार हिजो विभिन्न पाँच वटा भन्दा बढी कम्पनीका हेलिकोप्टरहरूले २७ वटा उडान गरी १३५ जना पर्यटकहरूलाई सोलुखुम्बुको फाप्लु र सुर्के पुर्‍याएका हुन् ।

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.