धुलिखेलमा हाइड्रोजनको ‘रि-फ्युल स्टेसन’, ६ किलो हाइड्रोजन उत्पादनमा ५ हजार खर्च

पेट्रोल तथा डिजेल विस्थापन गर्ने उत्तम विकल्प भएको दाबी
चैत्र १८, २०८० |पुजन धिताल
धुलिखेलमा हाइड्रोजनको ‘रि-फ्युल स्टेसन’, ६ किलो हाइड्रोजन उत्पादनमा ५ हजार खर्च

काभ्रे । काठमाडौं विश्वविद्यालय धुलिखेलमा हाइड्रोजन ल्याब सञ्चालनमा छ । ल्याबबाट निरन्तर हाइड्रोजनसम्बन्धी खोज अनुसन्धान हुँदै आएको छ ।

अहिले विश्वविद्यालयको हाइड्रोजन ल्याबको टिमले एउटा हाइड्रोजन गाडी सञ्चालनको तयारी गर्दै आइरहेको छ । प्रधानमन्त्रीबाटै चासो भएकाले पनि हाइड्रोजन गाडी सञ्चालन गर्न तीव्र गतिले विश्वविद्यालयले कामा गर्दै आइरहेकामा अहिले हाइड्रोजन गाडी सञ्चालन गर्न रि-फ्युल स्टेसन तयार गरी सञ्चालनमा ल्याइएको छ । देशमै प्रथमपटक यसरी हाइड्रोजन उत्पादन र रि-फ्युल स्टेसन निर्माण र फ्युलका रुपमा गाडीमै प्रयोगमा ल्याइएको हो । आज विश्वविद्यालयले हाइड्रोजन गाडीमै फ्युल (हाइड्रोजन) राख्नसमेत सफल भएको छ ।

हाइड्रोजनबाट चल्ने गाडीले अन्यको भन्दा बढी माइलेज दिने र वातावरणलाई प्रदूषणबाट जोगाउनेछ । बाहिरी रहेको अर्बौं रकमसमेत यहीँको विकासमा लगाउन सकिनेछ । पेट्रोल र डिजेल विस्थापन गर्न यो अत्यन्तै प्रभावकारी हुने विश्वविद्यालयको दाबी छ ।

अहिले सञ्चालनमा ल्याउन खोजेको गाडीबारे काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. विराजसिंह थापा भन्छन्, ‘यो कार हो । अनुसन्धानका लागि दोस्रो जेनेरेसन नै भए हुन्छ । सस्तो नै भए नि हुने भएर हो । ६ किलो हाइड्रोजन भण्डारण हुने कारमा बाटोअनुरुप ६०० देखि ८०० किलोमिटर चल्छ ।’

अहिले देशमै ६ किलो हाइड्रोजन उत्पादन गर्नु पर्दा ५ डलर खर्च हुन्छ । सोही ६ किलो हाइड्रोजनले अहिले प्रधानमन्त्रीले सञ्चालनमा ल्याउन खोजेको गाडी ६५० किलोमिटर गुड्न सक्छ । ६ किलो हाइड्रोजन बनाउन नेपाली पाँच हजार रुपैयाँ खर्च हुनेछ ।

बाटोमा गाडी गुड्न भने यसले नेपालको कानुनबमोजिमको ब्लुबुक प्राप्त गर्नुपर्ने, नम्बर प्लेट प्रदान गर्न भने समय लाग्ने स्वयं निर्माण पक्षको स्वीकारोक्ति छ ।

हाइड्रोजन गाडी साना कार मात्र नभई ठुला सवारीसाधन, लामो दूरीमा समान ढुवानीमा प्रयोग गर्न गरिन्छ । अहिले डिजेल प्रयोग भइरहेको गाडीमा पनि प्रयोग गर्न सकिने विश्वविद्यालयले दाबी गरेको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement