काठमाडौं महानगरको साइबर सेक्युरिटी तालिम, ४ हजार सहभागी हुँदै

३४ विधामा तालिम दिँदै महानगर
पुस २९, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौं महानगरको साइबर सेक्युरिटी तालिम, ४ हजार सहभागी हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटी तालिम दिने भएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य रहेको भन्दै पर्सि (माई २ गते) बाट तालिम सुरु गर्ने महानगरले जनाएको छ ।

काठमाडौं महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गरेर तालिम दिने जनाएको छ ।

सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार यो सहकार्यबाट ५ करोड रुपैयाँको छात्रवृत्ति प्रदान हुनेछ । साइबर सुरक्षा सीप रोजगारमूलक शिक्षा हो । यसले व्यक्तिलाई सम्भावित साइबर अपराधबाट बचाउँछ भने सीपबाट रोजगार क्षेत्रमा आबद्ध हुन सकिन्छ । ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेसाकर्मीहरुलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सीप प्रदान गरिनेछ,’ झाले भने ।

महानगरले सहकार्य गरेको इसी काउन्सिल साइबर सुरक्षा प्रमाणपत्र र तालिममा विश्वव्यापी अग्रणी र प्रमाणित नैतिक हृयाकर क्रेडेन्सियलको आविष्कार हो । महानगरको दाबीअनुसार गत वर्ष नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको छ ।

३४ विधामा तालिम

महानगरले सञ्चालन गर्ने सीपमूलक कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीका अनुसार अहिले सफ्टवेयर डेभलपमेन्ट, ब्युटिसियन, डिजिटल मार्केटिङ र प्रोफेसनल एकाउन्टिङका तालिम सुरु भइसकेका छन् । उनले भनिन्, ‘हामीले विभिन्न ३४ विधामा तालिम दिँदै छौं । आवश्यकता र मागका आधारमा तालिमका अन्य विधा थप गर्नेछौं ।’

१५ हजार व्यक्तिलाई तालिम दिने लक्ष्य राखेको महानगरले साइबर सेक्युरिटी तालिमबाट मात्रै ४ हजार संख्या पुग्ने देखिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.