चर्चामा ताप्लेजुङको आईटी एकेडेमी, ५ वर्षमा १२५० लाई स्वरोजगार बनाउने लक्ष्य

पुस २७, २०८० |कान्तिपुर टीभी संवाददाता
चर्चामा ताप्लेजुङको आईटी एकेडेमी, ५ वर्षमा १२५० लाई स्वरोजगार बनाउने लक्ष्य

ताप्लेजुङ । डेनीस नागरिक वाल्डेमर स्मिथले ताप्लेजुङको भानुजन माविसँगको सहकार्यमा बनाएको आईटी भवन यतिबेला चर्चाको विषय बनेको छ । आईटीको माध्यमबाट पाँच वर्षमा १२ सय ५० जनालाई स्वरोजगार बनाउने उद्देश्यले भवन निर्माण, प्रविधि जडान र पाँच वर्षको तालिम समेत गरी ७ करोड ६४ लाख रुपैयाँ खर्च हुनेछ । यसबाट कस्ता व्यक्तिहरू कसरी लाभान्वित हुन्छन् वा यो चर्चा मात्रै हो ?  

ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित भानुजन माविसँगैको आईटी भवन । देख्दा निकै आकर्षक यो भवनमा १२ कक्षा अध्ययनरत, उत्तीर्ण गरिसकेका र माथिल्लो तह अध्ययन गरेर पनि स्वरोजगार हुन नसकेकालाई ६ महिने तालिम दिने गरिन्छ ।

अध्ययन र रोजगारीका लागि दिनहुँ बिदेसिएका नेपालीको पीडाले हामीलाई मात्र होइन, डेनिस नागरिक वाल्डेमार स्मिथलाई पनि पोल्यो । अनि उनले ताप्लेजुङको फुङलिङमा भानुजन माविको स्वामित्वमा रहने गरी यो आकर्षक भवन बनाएर कम्प्युटर लगायतका उपकरण जडान गरेका हुन् । 

मासिक पाँच सयदेखि एक हजार डलर आम्दानी गर्न सक्ने क्षमताको बनाउने दाबी गरिएको कक्षामा ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ, वेब निर्माणजस्ता सीप सिकाइन्छ । यहाँ पढेका विद्यार्थीले देशभित्र र बाहिर सबैतिर काम पाउन सक्ने एकेडेमीको दाबी छ ।

विद्यालय-विद्यालयबीच समन्वय हुने भएकाले दाताले पनि विद्यालयसँगको यसरी साझेदारी गरेका हुन् । वैदेशिक रोजगारी नेपालीको आम्दानीको स्रोत भए पनि रित्तिँदो गाउँ बस्तीमा युवाहरूलाई अड्याउन यसले कति सक्ला यो भनेँ प्रतीक्षाको विषय बनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.