डाटा सेन्टरमा निरन्तर साइबर आक्रमणको प्रयास, सरकारी वेबसाइटहरू दिनभर ठप्प

पुस १६, २०८० |जितेन्द्र झा
डाटा सेन्टरमा निरन्तर साइबर आक्रमणको प्रयास, सरकारी वेबसाइटहरू दिनभर ठप्प

काठमाडौं । सरकारी डाटा सेन्टरमा निरन्तर साइबर आक्रमणको प्रयास भएपछि आज सरकारी वेबसाइटहरू दिनभर ठप्प जस्तै भए । सरकारी वेबसाइट नचल्दा सेवा प्रभावित भए । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सेवा नियमित गर्ने प्रयास जारी रहेको जनाएको छ ।

हिजोदेखि नै साइबर आक्रमणका कारण सरकारी डाटा सेन्टरमा समस्या आएको केन्द्रले जनाएको छ । त्यही कारण आज अधिकांश सरकारी कार्यालयका वेबसाइट खुलेनन् । कतिपय वेबसाइट खुले पनि पूर्णरुपमा काम गरेका थिएनन् । 

सरकारी वेबसाइटमार्फत भुक्तानीलगायतका अनलाइन सेवा लिनुपर्ने सेवाग्राहीले सास्ती खेप्नुपर्‍यो । सरकारले अनलाइनबाट सरकारी सेवा दिने बताइरहँदा सरकारी डाटा बैंक पटक-पटक समस्यामा पर्ने गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई खारेज गर्ने निर्णय गरेको थियो । छ महिनाअघि केन्द्रलाई सूचना प्रविधि विभागमा गाभ्ने निर्णय सरकारले गरे पनि त्यो कार्यान्वयन भएको छैन ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सफ्टवेयर अपडेट र लाइसेन्स नवीकरणलगायतका काम हुन नसक्दा यस्तो समस्या झन् जटिल हुने बताएको छ । कर्मचारीको तलब बाहेकका शीर्षकमा खर्च काटिएपछि सफ्टवेयर अपडेटलगायतका काम हुन नसकेको केन्द्रको भनाइ छ ।

केन्द्र नै अस्तव्यस्त हुँदा सरकारी सर्भर कुनै पनि बेला ठप्प हुन सक्ने चेतावनी प्राविधिकहरूले दिए पनि सुनुवाइ भएको छैन । सरकारले बिना तयारी केन्द्रलाई खारेज गरेको भन्दै सूचना प्रविधिका जानकारले आलोचना गर्ने गरेका छन् ।


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।