काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्जाइजी कर्णाली याक्सले रिटेन गरेका थप ६ खेलाडीको नाम आज सार्वजनिक गरेको छ । कर्णालीले हिजो नै मार्की तथा कप्तान सोमपाल कामीलाई निरन्तरता दिने जानकारी दिएको थियो ।
कर्णालीले गुल्सन झा, अर्जुन घर्ती, नन्दन यादव, दिपेन्द्र रावत र युनिसविक्रम ठकुरी तथा विपिन शर्मालाई रिटेन गरेको हो । हाल मलेसियामा जारी एसीसी मेन्स अन्डर सिक्सटिन इस्ट जोन कपमा नेपाली टिमको नेतृत्व गरिरहेका विपिनलाई कर्णालीले पहिलो सिजन ट्यालेन्ट हन्टबाट ल्याएको थियो ।
यस्तै नन्दन पनि एनपीएलकै लागि अस्ट्रेलियाबाट फर्किएका थिए । उनी अहिले सिनियर टिमको मुख्य सदस्य छन् । भुवन कार्की, देव खलाल, दिपक डुम्रे र मौसम ढकाल रिलिज भएका छन् ।
अब विराटनगर किंग्स र जनकपुर बोल्टसले मात्र रिटेन खेलाडीको नाम सार्वजनिक गर्न बाँकी छ । गत सिजन कर्णाली प्लेअफ पुगेको थियो । भारतीय स्टार शिखर धवन आबद्ध भएको कर्णाली दोस्रो क्वालिफायरमा जनकपुर बोल्टससँग दुई विकेटले पराजित भएको थियो ।