काठमाडौं । आगामी साउन १ गतेदेखि सरकारी स्वामित्वका स्वास्थ्य संस्थाहरू मात्र स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु रहने भएका छन् ।
स्वास्थ्य बीमा ऐन २०७४ को दोस्रो संशोधन तथा नियमावली २०७५ को पहिलो संशोधन गरी प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरिएको हो । विगतमा केही निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरू पनि प्रथम सेवा बिन्दु थिए । यसैगरी विशेषज्ञ सेवा दिने अस्पतालहरू पनि प्रथम सेवा बिन्दुका रूपमा नरहने बोर्डले जनाएको छ ।
अब बीमा गरेकाहरूले सुरुमा सरकारी संस्थामा गएपछि मात्र उसले रेफर गरेको आधारमा थप उपचारका लागि विशेषज्ञ वा अन्य बीमा उपलब्ध भएका निजी वा सामुदायिक स्वास्थ्य संस्था जान पाउनेछन् ।
अहिलेसम्म बीमितले बीमा गराउँदा नै प्रथम सेवा बिन्दु तोक्नुपर्ने र त्यहाँ मात्र बीमाको सेवा लिन पाउने वा रेफर ल्याउनुपर्ने प्रवधान छ । तर जहाँ बीमा गराए पनि अब देशभरका जुनसुकै प्रथम सेवा बिन्दुमा सेवा वा आवश्यक परे रेफर लिन मिल्ने गरी कार्यविधि बनाइरहेको समेत स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।