वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा उद्यमशीलतामा लागेका आठ जना उद्यमीलाई मङ्गलबार सरकारले सम्मान गरेको छ । सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक कार्यक्रम गरी झापामा रविन पोखरेललाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको हो ।
वैदेशिक रोजगारीबाट फर्किएर सीपमूलक तालिम केन्द्र सञ्चालन गरेर थप रोजगारी सिर्जना गरेको भन्दै पोखरेललाई सम्मान गरिएको हो । यस्तै उद्यमी राष्ट्रिय पुरस्कारबाट मोरङको आमा कृषि फर्मका सञ्चालक राजीव खड्का, जीतपुर बाराको निम्तो एग्रो फर्मका सञ्चालक शंकर सिम्खडा, दोलखाको वैतेश्वर रेन्ट एन्ड क्याटरिङ सर्भिसका कुमार श्रेष्ठ, तनहुँको वसन्त पोल्ट्री फर्मका बसन्तबहादुर खड्का र अर्घाखाँचीको कृषि फर्मका शोभाखर पोडेल सम्मानित भएका छन् ।
सुर्खेतको होजियारी उद्योगका सञ्चालक लक्ष्मीप्रसाद ढकाल र बैतडीको कृषि फर्मका सञ्चालक तर्कसिंह विष्ट पनि उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । उद्यमीहरूले सरकारी सम्मानले काममा लाग्न अझै जाँगर थपेको बताए ।
उत्कृष्ट उद्यमीका लागि १ लाख ५० हजार र उद्यमी राष्ट्रिय पुरस्कारका लागि ७५ हजार नगद र सम्मानपत्र दिइएको हो । वैदेशिक रोजगारीका निर्भरता कम गर्न आगामी दिनमा स्वदेशका काम गर्ने उद्यमीहरूलाई थप प्रोत्साहित गर्दै जाने श्रममन्त्री शरतसिंह भण्डारीले बताउनुभयो । स्थानीय रोजगार सेवा केन्द्रहरूको सिफारिसमा सरकारले उत्कृष्ट उद्यमी छनोट गरेको हो ।