सूचना प्रविधि विधेयक ल्याउने सरकारको तयारी

‘विधेयकले साइबर सुरक्षा र सामाजिक सञ्जालको समेत नियमन हुनेछ’
पुस ६, २०८० |कान्तिपुर टीभी संवाददाता
सूचना प्रविधि विधेयक ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले डट एनपी डोमेन आफू मातहतमै रहने गरी सूचना प्रविधि विधेयक ल्याउने तयारी थालेको छ । अहिले निजी क्षेत्रको मर्कन्टाइल कम्युनिकेसनले डट एनपी डोमेन उपलब्ध गराउँदै आएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अब ल्याइने सूचना प्रविधि कानुनले विद्युतीय कारोबार ऐन २०६३ लाई प्रतिस्थापन गर्नेछ । विधेयकमा सूचना प्रविधिका क्षेत्रमा कार्यरत कम्पनीलाई सहजीकरणका साथै साइबर सुरक्षा, डाटा संरक्षण र सामाजिक सञ्जालको नियमनका विषय समेटिनेछन् ।

सामाजिक सञ्जालका लागि छुट्टै विधेयक ल्याउनेबारेमा पनि मन्त्रालयमा छलफल भइरहेको सहसचिव अनिलकुमार दत्तले जनाए । कानुनी आधारबिनै टिकटक एपमाथि प्रतिबन्ध लगाएको भन्दै सरकारको निर्णयमाथि प्रश्न उठिरहेका बेला विधेयकको तयारी गरिएको उनले जनाए ।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध एक दर्जनभन्दा बढी निवेदन अदालतमा दर्ता भएका थिए । यस्तै इमेल र वेबसाइट व्यवस्थापनका लागि पनि झन्डै १० वटा निर्देशिका सरकारले जारी गरिसकेको छ ।

सरकारले केही साताअघि सामाजिक सञ्जाल नियमनका लागि पनि निर्देशिका जारी गरेको थियो । सञ्चार मन्त्रालयमा दूरसञ्चार ऐन लामो समयदेखि थन्किएको छ । राय र परामर्शका लागि भन्दै विधेयकका मस्यौदा अड्काइदिने प्रवृत्ति रहेको भन्दै मन्त्रालयको आलोचना हुने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.