विज्ञान प्रविधिको विकासका लागि सरकारसँग छैन ठोस कार्यक्रम

आश्विन १, २०८० |कान्तिपुर टीभी संवाददाता
विज्ञान प्रविधिको विकासका लागि सरकारसँग छैन ठोस कार्यक्रम

काठमाडौं । विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला भन्ने नाराका साथ आज विज्ञान दिवस मनाइएको छ । विज्ञानसँग जोडिएको उद्यम विकासका लागि भने सरकारले न पर्याप्त बजेट छुट्याएको छ न ठोस कार्यक्रम नै तय गरेको छ ।

राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले खोलेका प्रादेशिक अनुसन्धान केन्द्र सञ्चालनमा आउन सकेका छैनन् । गत आर्थिक वर्षका लागि विनियोजितमध्ये १६ करोड बजेट खर्च गर्न नसकेको नास्टले अनुसन्धान, अन्वेषणका लागि दक्ष जनशक्तिलाई टिकाउन र नेपाललाई चाहिने विज्ञान प्रविधिका आविष्कार गर्न बजेट अपर्याप्त रहेको बताएको छ । न्यून तलब र सुविधाका कारण दक्ष वैज्ञानिक विदेशिने गरेको नास्टका उपकुलपति प्रध्यापक दिलीप सुब्बाको भनाइ छ ।

विज्ञान तथा नवप्रवर्तनका लागि नास्टले वैज्ञानिक अनुसन्धानका लागि अनुसन्धानवृत्ति दिएको जनाएको छ । चालु आर्थिक वर्षमा नास्टले लगभग ४३ करोड बजेट पाएको छ । लक्ष्यअनुसार काम गर्न सवा अर्ब बजेट चाहिने भए पनि सरकारले बजेट दिन नसकेको नास्टको भनाइ छ । विश्वमा भइरहेका विज्ञान प्रविधिको अत्याधुनिक विकासबाट पनि नेपालले आर्थिक लाभ लिन सकेको छैन ।

Enter Kantipur TV HD
Advertisement