काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गत फागुन २३ मा सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको उद्घाटन गर्ने क्रममा आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको दाबी गरे । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि हाइड्रोजन गाडीको चर्चा चल्न थालेको छ । पेट्रोलियम पदार्थको मूल्य आकाशिँदै गरेको र विश्वले विकल्प खोजिरहेको अवस्थामा नेपालमा यसको सम्भावना कत्तिको होला ?
विश्वभर नै पेट्रोलियम पदार्थबाट चल्ने सवारीको विकल्प खोजी भइरहेको छ । एकातिर विद्युतीय सवारीसाधनको उत्पादन बढ्दो छ भने अर्कोतिर हाइड्रोजन ऊर्जाबाट चल्ने सवारीको पनि विकास गर्न उत्पादक कम्पनीहरुले प्रयास गरिरहेका छन् ।
खासगरी अन्तरिक्ष यानमा प्रयोग गरिँदै आएको हाइड्रोजन फ्युलबाट चल्ने गाडी नेपालमा सञ्चालन गर्न कतिको सम्भव छ ? पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह नेपालमा तत्काल हाइड्रोजनबाट चल्ने गाडीको सम्भावना कम देख्छन् ।
‘यसको लागि लगानी चाहिन्छ । निकट भविष्यमा त्यो लगानीको सम्भावना मैले देखिरहेको छैन । अहिले मन्दी चलिरहेको छ । यस्तो बेलामा नेपालमा कसैले पनि यो क्षेत्रका त्यत्रो ठूलो लगानी गर्ने वातावरण छैन ।’ उनले भने ।
यसअघि पनि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले स्वदेशी उत्पादनलाई हौसला दिने भन्दै नेपालमै तयार पारिएको मुस्ताङ म्याक्स गाडी चढे । अर्का प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पानीजहाज प्रशान्त महासागरमा चलाउने दाबी गरे । सस्तो लोकप्रियताका लागि भन्दा मुलुकलाई आत्मनिर्भर बनाउने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेतर्फ राजनीतिक नेतृत्वले अग्रसरता देखाउनुपर्ने जानकारको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेल हाइड्रोजन फ्युलको उत्पादन दीर्घकालीन प्राथमिकतामा पर्ने भएकाले अहिले नेपालले त्यसमा धेरै स्रोत छुट्याउन आवश्यक नरहेको बताउँछन् ।
‘अहिले हाम्रा प्राथमिकता अल्पकालीन र मध्यकालीनतर्फ बढी छन् । तर हाइड्रोजन फ्युलको कुरा गर्ने हो भने त्यो हाम्रो दीर्घकालीन प्राथमिकता हो,’ उनले भने, ‘जसलाई त्यती धेरै स्रोत छुट्याउनु पर्ने आवश्यकता अहिले छैन ।’
जलविद्युतको प्रयोग गरेर हाइड्रोजन निकालिन्छ । प्रयोगका हिसाबले हाइड्रोजन फ्युल सेल गाडी विद्युतीय गाडीभन्दा विकसित मानिन्छ । ५ मिनेटमा भरिने फ्युलले ६ सय किलोमिटरसम्म गुडाउन सकिन्छ । तर, यसलाई त्यति सफल मानिएको छैन र अझै अनुसन्धानकै चरणमा छ।
टोयोटा, होन्डालगायत केही कम्पनीले मात्रै उत्पादन गरेको हाइड्रोजन गाडी अहिलेसम्म १८ हजार वटामात्रै बिक्री भएका छन् । यो अति प्रज्वलनशील हुनुका साथै यसलाई भण्डारण र ढुवानी गर्न ठूलो संरचना आवश्यक पर्ने भएकाले नेपालजस्तो मुलुकमा यसको प्रयोग त्यति सहज छैन ।
प्रधानमन्त्रीले आफ्ना लागि हाइड्रोजन फ्युल गाडी ल्याउन त सक्लान्, तर यसलाई सर्वसाधारणको पहुँचमा ल्याउन भने सहज छैन ।