आज ‘आईसिटी डे’ मनाइँदै, साइबर सुरक्षा केन्द्र स्थापना गर्ने सरकारको तयारी

वैशाख १९, २०८० |कान्तिपुर टीभी संवाददाता
आज ‘आईसिटी डे’ मनाइँदै, साइबर सुरक्षा केन्द्र स्थापना गर्ने सरकारको तयारी

काठमाडौं । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आईसिटी डे’ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।

दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिँदै सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको उल्लेख गरेका छन् । यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन् ।

साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति, नियम र संरचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको जनाउँदै प्रधानमन्त्री दाहालले चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन कार्य भइरहेको जानकारी दिएका छन् ।

‘सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाइराख्नका लागि समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने छ,’ उनले भनेका छन्, ‘दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउनका लागि सबै जिल्लामा फोरजी सेवालाई प्रभावकारी बनाउँदै लगिएको छ । अफ्टिकल फाइबरको विस्तारमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई द्रूत गतिमा अघि बढाइएको छ। आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्‍याउने सरकारको लक्ष्य रहेको छ ।’

दिवस मनाउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको यही वैशाख १० गते बसेको बैठकले यस वर्षको मूल नारा पारित गर्दै मनाउने निर्णय गरेको थियो ।

नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । नेपालमा कम्प्युटर एशोसिएसन नेपाल (क्यान)को सन् १९९२ मा स्थापना भयो । त्यही स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालिएको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सूचना प्रविधिको प्रयोग गरेर देशको विकास र मुलुकको समृद्धि गर्न सकिने उद्देश्यले यो दिवस मनाउन थालिएको जानकारी दिए । उनले सूचना विश्वसनीय र भरपर्दो खालको हुनुपर्ने भन्ने सोचका साथ यस वर्षको दिवसको नारा तय गरिएको जनाए ।