सञ्चारमन्त्री शर्मा भन्छिन्- फोरजी सेवा गुणस्तर बनाएपछि मात्रै फाइभजी लागु गर्न उपयुक्त हुन्छ (भिडियोसहित)

फाल्गुन ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
सञ्चारमन्त्री शर्मा भन्छिन्- फोरजी सेवा गुणस्तर बनाएपछि मात्रै फाइभजी लागु गर्न उपयुक्त हुन्छ (भिडियोसहित)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधार निर्माणपछि मात्रै फाइभजी लागु गर्न उपयुक्त हुने धारणा राखेकी छन् ।

प्रविधि पत्रकार मञ्चले बिहीबार काठमाडौंमा गरेको ‘फाइभजीको चुनौती र आगामी बाटो’ विषयक अन्तर्क्रियामा उनले मुलुकमा फाइभजी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा सामान्य सूचनाको पहुँचसमेत पुग्न नसकेको अवस्था रहेको जनाइन् । फोरजी सेवा विस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्री शर्माले फोरजी सेवा लागु गर्दा लागेको लागतअनुसार प्रतिफल भए/नभएको विषयमा अध्ययन गर्नुपर्ने जनाइन् । विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समीक्षा गर्न सकेनौं भने लाभभन्दा नोक्सानी बढ्न सक्नेतर्फ सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । मन्त्री शर्माले नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेको भन्दै उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गरिन् ।

उनले देशका धेरै भू-भाग इन्टरनेटको न्यूनतम सेवासमेत नपुगेको जनाइन् । विभिन्न निकुञ्ज र जंगलको क्षेत्रसमेत इन्टरनेट र फोनको पहुँचबाहिर रहेको भन्दै जंगलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भए सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको भन्दै गुनासो गरिन् । उनले सम्बन्धित निकायहरुलाई सबैभन्दा पहिला सबै भूभागमा टेलिकमको सामान्य सेवाको पहुँच पुर्‍याउन निर्देशन दिइन् ।

मन्त्री शर्माले उपत्यकाको धेरै स्थानमा सामान्य सेवा नपुगेको र हाइवेका धेरै ठाउँमा फोन नलाग्ने, टावर नआउने अवस्था रहेको जनाइन् । फाइभजीअघि सरकारले ठूलो लगानी गरेर फोरजीको पूर्वाधार तयार गरे पनि त्यो लगानी खेर जाने स्थिति रहेको उनको भनाइ छ । उनले फोरजी राम्रोसँग नचल्दै फेरि फाइभजीमा लगानी गर्दा सरकारी लगानी खेर जाने अवस्था आउनसक्ने धारणा राखिन् ।

उनले विश्वमा आविष्कार भएको नयाँनयाँ प्रविधि आत्मसात् गर्दै गर्दा उपभोक्ता र नेपालीको व्यक्तिगत विवरण सुरक्षा ग्यारेन्टीमा समेत ध्यान दिन आवश्यक रहेको जनाइन् । उनले नयाँ प्रविधि लागु गर्दा देशको अवस्था र विगतको लगानीलाई हेररे गर्नुपर्ने बताइन् ।

‘नेपालमा फाइभजी लागु हुँदा धेरै लाभ लिन सकिने भएकाले लागु गर्न आवश्यक छ । हामीले फोरजीको स्टाटस थाहा नपाई फाइभजीमा कसरी अगाडि बढ्ने विषय छ । अहिले फोरजीको अवस्था के हो यसबाट कति लाभ लिएका छौं । फोरजी सेवामा कति लागत लगायौं र कति लागत उठ्यो भन्ने वास्तविक लेखाजोखा नगरी विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट के भयो भन्ने विषयमा समिक्षा गर्न सकेनौं भने लाभ भन्दा पनि नोक्सानी हुने जस्तो लाग्छ,’ मन्त्री शर्माले भनिन्, ‘हामी फोरजीमा भौगोलिक रुपमा कठिन अवस्थामा छौं । ग्रामीण क्षेत्रमा डाँडामा टेलिफोनको टावर भए पनि खोजमा रहेको बस्तीमा टावर आउँदैन ।’

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले फाइभजी सेवा अपेक्षाअनुसार नभएर पनि परीक्षण सुरु भएको जानकारी दिए । उनले सरकार, नियमन निकाय र आमउपभोक्ताले सोचेको जस्तो नभएको गुनासो गरे । फाइभजी सेवा परीक्षणको दायरा बढाउन उनको आग्रह छ । अध्यक्ष खनालले फाइभजी प्रयोगकर्ताले परीक्षण गर्नु पनि परीक्षणको एउटा पाटो भएको जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.