डिजिटल प्रविधिको प्रयोग गर्ने दलहरुमा एमाले अगाडि (भिडियो रिपोर्ट)

फाल्गुन ९, २०७९ |विकास आचार्य
डिजिटल प्रविधिको प्रयोग गर्ने दलहरुमा एमाले अगाडि (भिडियो रिपोर्ट)

काठमाडौं । एक समय थियो- दल र नेताहरुले आफ्ना कुरा राख्नुपर्‍यो भने आमसभा नगरी सुखै थिएन । तर प्रविधिको विकाससँगै त्यसको तौरतरिका फेरिएको छ । दल र नेताहरु डिजिटल प्रविधिको प्रयोगमार्फत सहज रुपमा एकैपटक असीमित संख्या माझ पुग्न थालेका छन् । दलमध्येमा पनि एमाले यसमा सबैभन्दा अगाडि देखिएको छ ।

एमालेले गत शुक्रबार मिसन ग्रासरुट अभियान सुरु गर्यो । सातै प्रदेशबाट एकसाथ अभियान सुरु हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताहरू भने मुख्यालयको मिडिया रुममा थिए । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र सचिवहरूलाई एमालेले सात प्रदेशमा प्रशिक्षण र अनुगमनको जिम्मेवारी दिएर ग्राउन्डमा खटाएको थियो । उनीहरू एक-एक गर्दै मिडिया रुममा राखिएका मोनिटरहरुमा सातै प्रदेशबाट जोडिए र अध्यक्ष ओलीले सम्बोधन गर्दै अभियानको शुभारम्भ गरे । शुभारम्भका क्रममा उनले भने, ‘अहिलेको तार्गेट मिसन फिफ्टी ओभर हो । अहिलेको हाम्रो जुन मिसन ग्रासरुट छ यसले त्यो कुरा पूरा गर्नु पर्छ ।’

एमालेले यस्तो अभ्यास पहिलो पटक गरेको होइन । प्रविधिको तीव्र विकास र विस्तारसँगै एमालेले आफूलाई प्रविधिमैत्री पार्टी बनाउँदै लगेको छ ।

‘व्यक्ति सशरीर पुग्नु भन्दा पनि व्यक्तिको विचार पुर्‍याउने हो । आफ्नो विचार सबैलाई एकैपटक सुनाउने हो । तसर्थ भर्चुअल्ली गर्दा, डिजिटाइजेसनले गर्दा एकैपटक सुन्ने मौका पायो नि,’ एमाले नेता एवं पार्टीका आईटी इन्जिनियर विनोद श्रेष्ठ भन्छन् ।

त्यतिमात्र होइन, अध्यक्ष ओली पनि सामाजिक सन्जालमार्फत सर्वसाधारणसँग प्रत्यक्ष कुराकानी गर्नेदेखि टिकटकमा देखिने र खेल कौशल प्रदर्शन गरेर युवाहरूलाई पार्टीमा आकर्षित गर्न सक्रिय रहने गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत अन्य दलका वेबसाईट भए पनि व्यवस्थापन र अद्यावधिकमा पछाडि नै छन् । बरु अध्यक्षहरु भने सामाजिक सञ्जालमा सक्रिय छन् । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको पनि व्यक्तिगत वेबसाइट अद्यावधिक भइरहेको हुन्छ । तर, यी दलका गतिविधिको जानकारी सहज रुपमा पाउन भने मुस्किल नै छ ।

‘पार्टी अफिसमा हाम्रो अलग विंग (संरचना) नै छैन । यतातिर हाम्रो अलि कमजोरी छ यसलाई हामी करेक्सन गर्छौं,’ कांग्रेस नेता रमेश लेखकले कान्तिपुर टीभीसँग भने ।

जमाना डिजिटल प्रविधिको छ । यसको जति बढी प्रयोग भयो, उति नै बढी संख्यामाझ पुग्ने र अन्तर्क्रिया हुने हुन्छ । एमालेले आफूलाई डिजिटल प्रविधिमा अभ्यस्त बनाउँदै अन्य दलभन्दा व्यवस्थित र सक्रिय देखाइरहेको छ । जसले अन्य दलहरुलाई पनि प्रविधिमैत्री बन्न घच्घचाएको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement