जनशक्ति अभावमा प्रयोगविहीन हुँदै विद्यालयका सूचना प्रविधि प्रयोगशाला

फाल्गुन ५, २०७९ |विनोद घिमिरे
जनशक्ति अभावमा प्रयोगविहीन हुँदै विद्यालयका सूचना प्रविधि प्रयोगशाला

धनकुटा । माल पाएर पनि चाल नपाएपछि कसको के लाग्छ ? प्रविधिमैत्री सिकाईका लागि प्रदेश एकका सामुदायिक विद्यालयमा स्थापित सूचना प्रविधि प्रयोगशालाको यस्तै हालत छ । प्रदेश एकका १४ जिल्लाका ३ सय ३८ सामुदायिक विद्यालयमा पछिल्लो तीन वर्षमा सूचना प्रविधि प्रयोगशाला, स्मार्ट र इ-कक्षा व्यवस्थापनका लागि १३ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । तर यो कार्यक्रमबाट विद्यार्थीहरूले अपेक्षित लाभ लिन भने सकेका छैनन् ।

धनकुटा भिर गाउँको टंक माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा २० वटा कम्प्युटर र सहायक उपकरण छन् । यो विद्यालयको कक्षा ६, ७ र ८ का विद्यार्थीले विज्ञान र प्रविधि विषयमा कम्प्युटर पनि पढ्नु पर्छ । तर सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा संचालनका लागि दरबन्दीका कम्प्युटर शिक्षक छैनन् । कम्प्युटर लगायत बिग्रेका सहायक उपकरण मर्मत गर्ने जनशक्ति र स्रोत छैन । यसरी सूचना प्रविधि प्रयोगशाला प्रभावकारी बन्न सकेको छैन ।

सदरमुकामकै गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयले कक्षा ३ देखि ८ सम्म १०० पूर्णाङकको ऐच्छिकमा कम्प्युटर विषय राखेको थियो । तर प्रशिक्षक जनशक्ति र उपकरण मर्मत गर्ने स्रोत जुटाउन नसकेपछि उक्त विषय हटाएको छ ।

उपकरण भए पनि दक्ष प्रशिक्षक जनशक्ति, संचालन र मर्मतका लागि स्रोत जुटाउन नसक्दा प्रदेश-१ का सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला निष्प्रभावि बनेका यी दुई उदाहरण हुन् । पहिला शिक्षा मन्त्रालय र पछि प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न शीर्षकमा सामुदायिक विद्यालयमा यस्ता उपकरण सहितका प्रयोगशाला स्थापना गरे पनि प्रशिक्षक जनशक्ति र संचालन कोषको व्यवस्था गरेको छैन ।

संघियता कार्यान्वयन हुनुअघि शिक्षा मन्त्रालय र त्यस पछि प्रदेश-१ को सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशालाका लागि कम्प्युटर र सहायक सामग्री उपलब्ध गराउँदै आएको छ । यसैका लागि प्रदेश-१ को सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ यता १३ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । 


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।