चेम्बर अध्यक्ष मल्ल भन्छन्- सञ्चार क्षेत्रमा एकद्वार प्रणाली भएन, प्रविधिमा फड्को मार्न सकिएन

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
चेम्बर अध्यक्ष मल्ल भन्छन्- सञ्चार क्षेत्रमा एकद्वार प्रणाली भएन, प्रविधिमा फड्को मार्न सकिएन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न नसकेको धारणा सार्वजनिक गरेका छन् ।

मंगलबारबाट शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा उनले नेपाल सूचना र प्रविधिको क्षेत्रमा धेरै अघि बढ्नुपर्ने भए पनि हालसम्म सोचेअनुसारको अघि बढ्न नसकेको जनाए । आगामी दिनमा मुलुकलाई डिजिटलाइजेसनमार्फत सूचना प्रविधिको विकास गरी सूचना प्रविधिमा आत्मनिर्भर बनाउनुपर्ने उनको भनाइ छ ।

आईटी अध्ययनरत विद्यार्थीलाई ‘पार्टटाइम जब’का लागि सरकारले उद्योग व्यवसाय क्षेत्रमा लगाउनुपर्ने उनको धारणा छ । अध्यक्ष मल्लले सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न आईटी कम्पनीहरु खोल्नुपर्ने सुझाव पनि दिए । आईटी क्षेत्रलाई प्रवर्द्धन गर्नसके नेपालमा रोजगारी सिर्जना हुनुका साथै विदेश पलायन भइरहेका नेपाली विद्यार्थीहरुलाई नेपालमै रोक्न सकिने जानकारी दिए ।

‘सञ्चार तथा प्रविधि क्षेत्रमा फड्को मार्ने कुराहरुमा अलिकति हामी सरकारी नीति, नियम र एकद्वार प्रणाली सेवा नभएर पछि परेको हो की भन्ने लागेको छ । हामी सूचना प्रणालीमा धेरै अघि हुनुपर्ने हौँ,’ उनले भने, ‘तर क्यान इन्फोटेकले अन्तर्राष्ट्रिय स्तरमा लगेको छ । अबका दिनमा हामीले मुलुकलाई डिजिटलाइजेशनमार्फत सूचना प्रविधि प्रणालीलाई विकास गरेर आत्मनिर्भर बनाउनेतिर जानुपर्छ । आईटी क्षेत्रमा लागेका व्यक्तिलाई यो क्षेत्रमा पार्ट टाइमको काम गर्ने व्यवस्था गर्नुपर्छ । उद्योग व्यवसाय क्षेत्रमा विद्यार्थीहरुलाई लगाउने काम मुलुकले गर्नैपर्छ ।’

अध्यक्ष मल्लले कुनै पनि विदेशी कम्पनी नेपालमा आउँदा कम्पनीमा ज्वाइन्ट भेन्चर्स सिस्टम लागु गर्न आवश्यक रहेको पनि जनाए । विदेशी कम्पनीहरुसँग नेपालका कम्पनीहरुले पनि धेरै कुरा सिक्न आवश्यक रहेको उनको भनाइ छ । उनले देशको अर्थतन्त्रको सूचक नकारात्मक रहेकाले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लाग्नुपर्ने पनि सुझाए । अहिले बैंकको ब्याजदर पनि घट्नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

‘विदेशी कुनै पनि कम्पनी नेपालमा आउँछ भने प्रतिनिधिका रुपमा नभएर साझेदारका रुपमा नेपाली इन्जिनियरहरुलाई समेत राख्नुपर्ने व्यवस्था गर्नुपर्छ । ठूला आईटी कम्पनीहरुसँग नेपालका कम्पनीले पनि सिक्नुपर्छ,’ उनले भने ।

अध्यक्ष मल्लले बैंकहरुले ऋण प्रवाह गर्ने दर एउटै बनाउनुपर्ने सुझाव पनि दिए । ‘अहिले जुन किसिमको देशमा अर्थतन्त्रको सूचक नकारात्मक छ, यसलाई आत्मनिर्भर बनाउनुपर्छ । यसबारेमा मन्त्रीज्यूले आफ्नो क्याबिनेटमा स्पष्ट रुपमा राख्नुपर्छ कि अहिले बैंकको ब्याजदर घट्नसक्ने अवस्था छ,’ उनले भने, ‘त्यो घटाउन जुन बैंकहरुले ऋण प्रवाह गर्दा दिने बेसमेन्टमा जुन सर्भिस चार्ज लिन्छ, त्यसमा कसैलाई ०.५ प्रतिशत छ, कसैलाई ६ प्रतिशत भएको छ । कमसेकम यो बेस रेटमा लिने सर्भिस चार्ज सबैलाई एउटै दरमा कायम गर्ने व्यवस्था गर्नुपर्छ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.