सरकार प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन जुटेको छ : मन्त्री शर्मा

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
सरकार प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन जुटेको छ : मन्त्री शर्मा

काठमाडौं । सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार जुटेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाबी गरेकी छन् ।

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले आवश्यक कानुन निर्माणका लागि तत्काल संसद्‌मा पेस गर्ने तयारी गरिरहेको जानकारी दिइन् । उनले त्यसका लागि सुझाव दिन पनि सबै पक्षलाई आग्रह गरिन् । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्‌वान गरिन् ।

उनले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढंगले अघि बढाउन नसकेको स्विकार्दै त्यस काममा सम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेको जनाइन् । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्त्वकांक्षी योजना अघि सार्ने योजना पनि सार्वजनिक गरिन् ।

‘नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा हामीले गर्नुपर्ने लगानी, हामीले गर्नुपर्ने सहयोग, हामीले गर्नुपर्ने कुराहरु के-के हुन्छन् भन्ने कुरामा पनि एउटा छलफल जरुरी छ भन्ने मलाई लागेको छ । हाम्रो क्यान महासंघकै तर्फबाट अघि अनौपचारिक रुपमा थोरै कुरा भएको छ । मन्त्रालयबाट हामीले यस क्षेत्रमा गर्न सक्ने सहयोगहरु के के हुन सक्छन ? कमजोर अवस्था भएकाले धेरै सहयोग गर्न नसकौंला । तर पनि केही न केही त यस क्षेत्रमा गर्नैपर्ने हुन्छ,’ उनले भनिन्, ‘यसका निम्ति यहाँहरुका आइडियाहरु, सुझावहरु पनि मन्त्रालयले प्राप्त गर्न सकोस् । त्यसका निम्ति पनि ध्यान दिनुहुनेछ भन्ने आग्रह गर्न चाहन्छु ।’

मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा केही गरौं भन्ने भावना साथ अघि बढनुपर्नेमा पनि जोड दिइन् । ‘आजको दिनमा पनि हाम्रो आफ्नै स्याटलाइट छैन । हिजोको सरकारले हातहातमा मोबाइल, घरघरमा इन्टरनेटभन्दा त्यो नारा पनि सम्भव हो र भनेजस्तो हामीलाई लाग्थ्यो । तर आज आएर त्यो सम्भव भयो,’ उनले भनिन्, ‘त्यस्तै महत्त्वकांक्षी नाराहरु अगाडि सारेर हामीले अगाडि बढ्न जरुरी छ भन्ने मलाई लाग्दछ । त्यसका निम्ति यहाँहरुको जुन अनुभव छ । त्यो हामीलाई पनि सहयोग गर्नुहुनेछ भन्ने मलाई लाग्दछ ।’

उनले यस क्षेत्रको विकास, निर्माण र राष्ट्र अघि बढाउनका लागि सबिस्तार अध्ययन गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाइन् । उनले यसका लागि सबैले सहयोग गर्नका लागि आह्‌वान पनि गरिन् । ‘हामी यस क्षेत्रको सम्बन्धित कानुनहरु छिटोभन्दा छिटो संसद्‌मा लैजाने, पारित गर्ने र यस क्षेत्रलाई व्यवस्थित गर्ने भनेर हामी लागिरहेका छौं,’ उनले भनिन्, ‘त्यसकारण यसका लागि आवश्यक कानुनहरुको विषयमा पनि यहाँहरुको सुझावको अपेक्षा गरेका छौं ।’

सूचना प्रविधि क्षेत्रमा कामै नभएको भन्दा पनि आवश्यक काम हुन नसकेको मन्त्री शर्माको स्वीकारोक्ति थियो । ‘यस क्षेत्रमा प्रधानमन्त्रीकै नेतृत्वको डिजिटल फ्रेमवर्क नेपालजस्ता निर्देशक समितिहरु छन । तर पनि आवश्यक काम हुन सकेको छैन,’ मन्त्री शर्माले भनिन्, ‘केही पनि भएन भन्ने मेरो भनाइ होइन । तर पनि जति हुनुपर्ने हो, त्यो हुन सकेको छैन । त्यसकारण हाम्रा विभिन्न संघ-संस्थाहरु जति पनि छन । मन्त्रालयबाट, हाम्रा बनेका ती सरकार निकायहरुबाट र निजी क्षेत्रबाट बनेको यो क्यान महासंघबाट हामी सबैले सहकार्य गरेर एउटा राष्ट्रका निमित्त, सूचना प्रविधिको विकासका निमित्त हामी अगाडि बढौं ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.