सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउनुपर्छ : सञ्चारमन्त्री

माघ २२, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउनुपर्ने आवश्यकता रहेको धारणा राखेकी छन् ।

नेपाल टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा उनले नेपाल टेलिकम सरकारको स्वामित्व भएको संस्था भएकाले सरकारको सोच र लक्ष्यअनुसार समेटेर मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याइन् । उनले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्‍याउने जिम्मेवारी पनि नेपाल टेलिकमको भएको उल्लेख गरिन् ।

मन्त्री शर्माले विगतको सरकारले लिएको घरघरमा इन्टरनेट हातहातमा मोबाइल महत्त्वकांक्षी नाराले सार्थकता पाएको दाबी गरिन् । नेपाल टेलिकमको ग्राहकले तिरेको महसुलबाट सही सदुपयोग गरेर सुलभ र गुणस्तरीय सेवा पुर्‍याउनुपर्ने उनको धारणा छ । उनले नेपाल टेलिकमजस्ता आत्मनिर्भर सरकारी संस्थालाई संरक्षण गरी सेवा प्रवाह, रोजगारी सिर्जना राजस्वको महत्त्वपूर्ण स्रोतका रुपमा विकास गर्ने राज्यको प्राथमिकता रहने जानकारी दिइन् ।

‘विगतका सरकारले लिएको घरघरमा इन्टरनेट हातहातमा मोबाइल महत्त्वकांक्षी नारा सार्थकता पाएको छ । आगामी दिनमा नेपालले आफ्नै भू-उपग्रह स्थापना गरी सेवा दिनुपर्ने लक्ष्य लिनुपर्नेछ,’ उनले भनिन्, ‘अधिकांश सरकारको स्वामित्व भएको संस्था भएकाले सरकारको सोच र लक्ष्यलाई समेट्दै मुलुकका सुगमदेखि अति विकट स्थानहरुमा नाफारहित रुपमा भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवाहरु उपलब्ध गराउने जिम्मवारी नेपाल टेलिकमको रहेको छ ।’

मन्त्री शर्माले दुर्गम क्षेत्रमा नेपाल टेलिकमको कर्मचारी कम भएको स्विकारिन् । उनले कर्मचारी कम हुँदा मर्मतसम्भारमा ढिलाइ हुनेजस्ता समस्या देखिएको उल्लेख गरिन् । सरकारले आगामी दिनमा टेलिकमका सेवा भूउपग्रहबाट विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

टेलिकम सञ्चालनमा आएको १९ वर्षको अवधि बित्दा हाल दुई करोड १३ लाखभन्दा बढी ग्राहक छन् । टेलिकमको पीएसटीएन सेवातर्फ चार लाख ५५ हजार ग्राहक छन् । आर्थिक वर्ष ०७८/७९ मा कम्पनीको कुल राजस्व ४४ अर्ब ३७ करोड रुपैयाँ छ । खुद नाफा आठ अर्ब ४७ करोड रुपैयाँ छ ।

हाल टेलिकममा फोर जी प्रयोगकर्ताको संख्या एक करोड १५ लाख ५० हजार छन् । टेलिकमले देशभर पीएसटीएन, सीडीएमए र जीएसएमलगायत टेलिफोन सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस्तै, कम्पनीले सेवाग्राहीहरुलाई इन्टरनेटको पनि सेवा दिँदै आइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.