२८औं संस्करणको क्यान इन्फोटेक माघ २३ देखि

माघ १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
२८औं संस्करणको क्यान इन्फोटेक माघ २३ देखि

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघले २८औं संस्करणको क्यान इन्फोटेक माघ २३ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । महासंघका अनुसार क्यान इन्फोटेक २०२३ माघ २३ देखि २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ । इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा महासंघका महासचिव चिरञ्जीवी अधिकारीले योपटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत टिकेट खरिद गर्न सकिने जनाए । सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धित कम्पनीहरुको सहभागिता रहने अधिकारीको भनाइ छ ।

यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गर्ने जानकारी दिए । उनले क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने जानकारी दिए ।

महासंघले इन्फोटेकका लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाख मानिसले अवलोकन गर्ने अपेक्षा राखेको छ । महासंघले प्रदर्शनीले डिजिटल नेपालको अभियानलाई समेत सहयोग पुग्ने विश्वास राखेको छ ।

काठमाडौंमा प्रदर्शनी सकिएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने महासचिव अधिकारीको भनाइ छ । मधेसमा फागुन ५ देखि ९ गते, सुदूरपश्चिममा फागुन १३ देखि १७ गते, गण्डकीमा फागुन २६ देखि फागुन ३० गते, वाग्मतीमा चैत २ देखि चैत ६ र प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै क्यान इन्फोटेक आयोजनाको मिति घोषणा हुने अधिकारीले जानकारी दिए ।

महासंघले सन् १९९५ देखि क्यान इन्फोटेकको सुरुवात गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.