मेसीको ‘लास्ट डान्स’का लागि सजियो अर्जेन्टिना, बिदाइलाई बनाइँदैछ राष्ट्रिय पर्व

आश्विन २०, २०८३ |अभय बस्नेत
मेसीको ‘लास्ट डान्स’का लागि सजियो अर्जेन्टिना, बिदाइलाई बनाइँदैछ राष्ट्रिय पर्व

काठमाडौं । ब्युनेस आयर्सको मोनुमेन्टल स्टेडियम वरिपरि उर्लिएको मानिसको भीड केवल एउटा नियमित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको प्रतीक्षा मात्र होइन । यो त विगत दुई दशकदेखि देशको नाम विश्वभर चम्काउने आफ्ना नायक लियोनेल मेसीलाई अर्जेन्टिनाले दिन लागेको एउटा भव्य, भावुक र ऐतिहासिक बिदाइको उत्सव हो । 

बेनिनविरुद्ध अक्टोबर ६ मा हुने 'एल उल्तिमों ताङ्गो' अर्थात् अन्तिम डान्सका लागि सिंगो देश र फुटबल प्रेमीहरू आफ्ना कप्तानलाई उनले पाउनुपर्ने सम्मान दिन गर्न एकजुट भएका छन् । बिदाइको यो पल कति विशेष छ भन्ने प्रमाण स्टेडियमको टिकट बिक्रीले नै दिन्छ । 

एफएले कोर्डोबामा भएको अघिल्लो खेलमा फिफाको प्रतिबन्ध भुक्तान गरेपछि मोनुमेन्टल रंगशालाको पूरा ८५ हजार क्षमता खुला गरिएको थियो । तर, अनलाइन बिक्री सुरु भएको दुई घन्टामै सबै टिकट सोल्ड आउट भए र वेबसाइट नै कोल्याप्स भयो ।

अर्जेन्टिनी फुटबल एसाेसिएसनका अध्यक्ष ताफिया र प्रशिक्षक लियोनेल स्कालोनीको पहलमा यो दिनलाई केवल एउटा खेलमा सीमित नराखी राष्ट्रिय पर्वका रूपमा आयोजना गरिँदैछ । सन् २०२२ को कतार विश्वकप विजेता टोलीका सम्पूर्ण सदस्य र तिनका परिवारलाई मेसीको साथमा मैदानमा उपस्थित गराइँदैछ । 

प्रशिक्षक स्कालोनीका अनुसार यो दिन सम्पूर्ण अर्जेन्टिनीका लागि कहिल्यै नबिर्सिने क्षण बन्नेछ । मैदानभित्र मेसीका लागि तयार पारिएका हरेक सामग्रीमा ऐतिहासिक छन् । एडिडासले मेसीका लागि पछाडि सुनौलो अक्षरमा– मेसी टेन लेखिएको विशेष जर्सी तयार पारेको छ, जसमा विश्वकप च्याम्पियन ब्याजसहित तीनवटा विशेष प्याचहरू रहेका छन् । 

साथै, सन् २००६ को विश्वकप डेब्यूको सम्झना गराउने सेतो, सुनौलो र निलो रङ्गको विशेष एफ-५० बुट मेसीले लगाउनेछन् । खेल सकिएपछि रंगशालाको बत्ती निभाएर स्क्रिनहरूमा मेस्सीको २१ वर्षे यात्राको भिडियो डकुमेन्ट्री, विशेष ट्रफी र एएफएको तर्फबाट कदरपत्र प्रदान गर्ने विशेष समारोह हुनेछ ।

रंगशालाभित्र छिर्न नपाएका हजारौँ समर्थकका लागि विश्वविद्यालय परिसर सिउदाद युनिभर्सितारियामा 'ग्रासियस, लिओ' फ्यान फेस्ट आयोजना गरिएको छ, जहाँ ठूला स्क्रिनमा प्रत्यक्ष प्रसारण, संगीत, कार्यक्रमहरू राखिएका छन् । उता मेसीको जन्मथलो रोसारियोमा राष्ट्रिय झन्डा स्मारक अगाडि १० नम्बर अंकित विशाल जर्सी प्रदर्शन गर्दै 'ग्रासियस' भन्दै सम्मान अर्पण गरिएको छ । 

घरघरका बार्दली र सडकहरूमा अर्जेन्टिनी झन्डा फहराइएको छ, जहाँ मेसी आफ्नी पत्नी एन्टोनेला, तीन छोराहरू र आमा सेलियाका साथ प्राइभेट जेटमा आइपुग्दा स्वागत गरिएको थियो । सन् २००५ मा हङ्गेरीविरुद्ध डेब्यू गर्दा मैदान छिरेको ४३ सेकेन्डमै रातो कार्ड पाएर सुरु भएको मेसीको अन्तर्राष्ट्रिय यात्रा सधैँ सहज थिएन । 

सुरुवाती वर्षहरूमा व्यहोरेको आलोचना र फाइनलहरूमा भोगेका पराजयलाई चिर्दै उनले आफ्नो लगनशीलताबाटै देशको फुटबल इतिहास बदले । सन् २०२१ मा ब्राजिललाई हराएर कोपा अमेरिका, २०२२ मा फाइनालिसिमा र त्यसपछि कतारमा तेस्रो विश्वकप उपाधि दिलाउँदै उनले अर्जेन्टिनालाई फेरि विश्वको सर्वोच्च शिखरमा पुर्‍याए। 

२०७ म्याचमा १२५ गोल र ६६ भन्दा बढी एसिस्ट गर्दै उनले आफ्नो नाम स्वर्ण अक्षरले कोरिसकेका छन् । भोलिको रात निकोलस ओतामेन्डी जस्ता अनुभवि टिममेटको पनि बिदाइको क्षण हो भने जित वा हारको दबाबभन्दा माथि उठेर, एउटा युगको अन्त्यलाई उत्सवका रूपमा मनाउन तयार भएको यो क्षण अर्जेन्टिना र विश्व फुटबलको इतिहासमै सधैँ अमर रहनेछ ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।