
काठमाडौं । नेपाली महिला कबड्डी टोलीको चाहना छ एसियाली खेलकुदमा फेरि पनि पदक जित्ने।
यसका लागि नेपाली टिमले अन्तिम तयारी गरिरहेको छ। दुई वर्षदेखि निरन्तर प्रशिक्षणमा रहेको टोलीले यसपटक कास्य पदकमा मात्र सीमित नरही फाइनलसम्म पुगेर स्वर्ण जित्ने उच्च मनोबल बनाएको छ। तयारीलाई थप मजबुत बनाउन टोली विशेष प्रशिक्षणका लागि भारत गएको छ ।
१९औँ एसियाली खेलकुदमा कास्य पदक र चीनमा आयोजित बिच कबड्डीमा तेस्रो स्थान हासिल गरेर नेपाली कबड्डी टोलीले इतिहास रच्यो । त्यो ऐतिहासिक टिमका ६ खेलाडीले आगामी असोजमा जापानमा हुने २०औं एसियाली खेलकुद पनि खेल्नेछन्।
यही टोली अहिले आगामी एसियाली खेलकुदको तयारीका लागि भारत गएको छ। कबड्डीका लागि आवश्यक पूर्वाधार र कभर्डहलको सीमितताका बाबजुद खेलाडीले मनोबल कमजोर हुन दिएका छैनन्। शारीरिक तन्दुरुस्ती र पावर ट्रेनिङमा विशेष ध्यान दिएको टोलीमा अनुभवी खेलाडीहरूको बाहुल्यता छ भने टोली निकै सन्तुलित देखिएको छ।
यसअघि नै कास्य जितेका कारण नेपाली टिमको लक्ष्य फाइनल पुग्ने हो। फाइनल पुग्न महिला कबड्डीलाई नेपालमा पहिचान दिलाउने यो पुस्ताका खेलाडीको ठूलो सपना छ। त्यसका लागि चाहिने टिमको सहकार्य, व्यक्तिगत कौशल र एक आपसमा सहयोग गर्ने भावना भरपुर छ।
प्रशिक्षक राजेन्द्र र पार्वती राईको नेतृत्वमा टोलीले पावर, इन्ड्युरेन्स, स्पिड ट्रेनिङका साथै हाई परफरमेन्स सेन्टरको समेत प्रयोग गरेर आफ्नो क्षमता पहिचान गरेको छ। आफ्नो कौशल सुधार्न खेलाडीले विपक्षी टोलीका खेलाडीहरूको रणनीतिक भिडियो हेरेर विश्लेषणात्मक तयारीसमेत गरिरहेका छन्। बाँकी रहेको काम टीमले अब भारतमा गर्नेछ।
घरेलु मैदानमा राम्रो खेल्न नपाए पनि भारतमा टिमले म्याच सिनेरियोमा खेल्नेछ। म्याटमा टोलीले टिम सेटिङ गर्नेछ। जसले टिमको कमजोरी सुधार गर्न ठुलो मद्दत पुग्नेछ। त्यसपछि नेपाली टिम भारतबाटै जापान प्रस्थान गर्नेछ। जितको उच्च चाहना र उत्कृष्ट तालमेलबाट देशका लागि ऐतिहासिक पदक ल्याउने टोलीको अपेक्षा छ।
भारतमा हुने ४५ दिने विशेष प्रशिक्षणले टोलीको प्राविधिक कमजोरी हटाउँदै एसियाली खेलकुदमा स्वर्ण पदक दिलाउन निर्णायक भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ।