संघको विवादले रोकियो नेपाली ई-स्पोर्ट्स खेलाडीको एसियाली खेलकुद यात्रा

श्रावण १३, २०८३ |विनयज्योति सापकोटा
संघको विवादले रोकियो नेपाली ई-स्पोर्ट्स खेलाडीको एसियाली खेलकुद यात्रा

काठमाडौं । नेपालमा ई-स्पोर्ट्स अहिले लोकप्रिय बन्दै गइरहेको छ । 

१९औं एसियाली खेलकुदमा पदक छेउमा पुगेको पब्जीले अहिले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपसमेत खेलिसकेको छ । तर, सरकारी हस्तक्षेप र संघको आन्तरिक विवादका कारण एसियाली खेलकुदमा छनोट भइसकेका खेलाडीले पनि प्रतियोगिता भने खेल्न नपाउने भएका छन् ।

नेपालमा अहिले ई-स्पोर्ट्सका दुईवटा संघ छन् । एक, सुरज डंगोलको अध्यक्षतामा रहेको नेसा र अर्को अन्जन धमलाको अध्यक्षतामा रहेको इसान । नेसासँग अन्तर्राष्ट्रिय मान्यता छ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि यसलाई चिन्छ । अर्कोतर्फ इसान नेपाल राष्ट्रिय खेलकुद परिषद्‌मा दर्ता छ र सरकारले मान्यता दिएको छ ।

तर, कुनै पनि संघसँग दुवै तिरको मान्यता नहुँदा यी दुई संघबीचको संघर्ष बढ्दैछ । यसलाई नेपाल सरकारले समेत प्रश्रय दिएपछि अहिले नेपाली ई-स्पोर्ट्स खेलाडीले एसियाली खेलकुदमा भाग लिन लिन नपाउने भएका छन् । भियतनाममा भएको छनोट प्रतियोगितामा आफ्नै खर्चमा नेपाली खेलाडि सहभागि भएका थिए। 

पब्जीबाट रोहित तामाङ सोनु कार्की दिनेश मगर दिपेश गुरुङलगायत खेलाडी छनोट भए भने अनर अफ किङबाट सुशाङ्ख कुमार रोय स्वस्तिक महर्जनलगायतका खेलाडी छनोट भएका छन्। धेरै अभ्यासपछि छनोट भए पनि मुख्य प्रतियोगितामा सहभागी बन्न नपाउनु खेलाडीप्रति राज्यले गरेको अन्याय भएको खेलाडीको दाबी छ ।

अहिलेको नेपाली खेलकुदलाई मन्त्री सस्मित पोखरेलका सल्लाहकार सिद्धी व्यञ्जनकारले हेरिरहेका छन् । व्यजनकारकै हस्तक्षेपका कारण नेपालको ई-स्पोर्टस् टिमले एसियाली खेलकुदमा सहभागिता जनाउन नपाएको ई-स्पोर्ट्सलाई नजिकबाट चिन्नेहरु बताउँछन् । 

नेपाल ई-स्पोर्ट्स संघ नेसाले १९औं एसियाली खेलकुदमा पाँच खेलका खेलाडी लिएर गएको थियो । अन्तर्राष्ट्रिय ई-स्पोट्स महासंघको सदस्य संस्था रहेको कारण हरेक खेलले यही संघको मातहतमा मात्रै अन्तर्राष्ट्रिय सहभागिता जनाउन पाउँछ । त्यसैले गत जेठ १३ गते नेसा र खेलाडी मिलेर राखेपमा छनोट खेल्न जानका लागि स्वीकृति मागेका थिए । तर, परिषद्ले स्वीकृति माग गरिएको पत्र दर्ता नै गर्न मानेन । 

त्यो पत्र निकै पछि असार २५ गते मात्रै दर्ता भएको थियो । खेलाडी छनोट खेल्न गएपछि राखेपले ई-स्पोर्ट्सलाई लक्षित गरेर आफ्नो स्वीकृतिबेगर नेपाली खेलाडी छनोटका लागि नजान भन्दै सूचना जारी गरेको थियो। अर्कोतर्फ एसियाली खेलकुदको छनोट भइरहँदा ईसान नाम गरेको अर्को ई-स्पोर्ट्स संघले एसियन गेम्समा सहभागीता जनाउने भन्दै अर्को छनोट प्रतियोगिता आयोजना गरेको थियो । 

त्यतिबेलासम्म नेपाली टिम एसियन गेम्स छनोटबाट क्वालिफाई भइसकेको थियो । तर, राखेपले यी ई-स्पोर्ट्स खेलाडीको नाम ओलम्पिक कमिटीमा पठाउन मानेन । यसैकारण एसियन ओलम्पिक कमिटीले नेपाल ओलम्पिक कमिटीलाई ई-स्पोर्ट्समा छनोट भएका खेलाडीको नाम किन नपठाएको भनेर प्रश्न गरेको छ । 

जसको उत्तर अहिलेसम्म कसैले दिन सकेको छैन । यो विषय अहिले नेपालको सहभागितामा मात्रै सीमित भएन । छनोट भइसकेको खेलाडिलाई एसियाली खेलकुदमा नपठाउँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरवमा आँच आउने र वैदेशिक लगानी भित्रिने कुरामा पनि प्रभाव पर्ने देखिन्छ । किनभने, नेपाली टिमले टिमले विश्वकप खेल्छ । 

विश्वकपका लागि नेपाल चाँडै फ्रान्स जाँदैछ । अन्य ई-स्पाेर्ट्स खेलमा पनि नेपाली खेलाडीले आशा देखाएका छन् । र, ई-स्पोर्ट्स विश्वकपमा ठूलो उद्योगमा परिणत भइसकेको छ । यसको भविष्य फराकिलो बन्दैछ । तर, ई-स्पोर्ट्सका दुई संघबीचको संघर्ष र त्यसमा फरक फरक शक्ति समूहको दबाब र हस्तक्षेपको प्रभावमा खेलाडी परेका छन् जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितामै असर परेको छ। 

के अब छनोट भएका खेलाडी एसियाली खेलकूदमा पुग्छन् ? ई-स्पोट्सका खेलाडी कुरेर बसेका छन् ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।