एसियन गेम्समा काताबाट पदक जित्ने लक्ष्य, तयारीमा जुट्यो नेपाली टोली

श्रावण २५, २०८३ |खेल ब्युरो
एसियन गेम्समा काताबाट पदक जित्ने लक्ष्य, तयारीमा जुट्यो नेपाली टोली

काठमाडौं । करातेका दुई टोलीले यसपटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दैछन् । 

कुमुतेतर्फ यसअघि नै रजत पदक विजेता एरिका गुरुङ छिन् भने अर्कोतर्फ विश्व च्याम्पियनसिपमा छनोट भएर खेलिसकेकी र नेपाली करातेलाई अर्को स्टेजमा पुर्याउन उद्दत सानुमाथा थिङ छिन् । अन्तर्राष्ट्रिय छोटै समयमा अन्तर्राष्ट्रियस्तरमा राम्रो पहिचान स्थापित गरिसकेको काताको तयारी कस्तो भइरहेको छ त ?

२०औं एसियाली खेलकुदमा कुमुतेसँगै काताबाट पनि धेरै आशा गरिएको छ । आगामी असोज ३ गते जापानमा सुरु हुने एसियाली खेलकुदमा कातातर्फ नेपालले दुई बिधामा प्रतिस्पर्धा गर्दैछ । महिला टिम काता र एकल काता । व्यक्तिगत कातामा सानुमाया थिङ र टिम कातामा उनीसँगै मेघा लिम्बू र एलिसा रास्कोटी मगरले चुनौती दिँदैछिन् । 

दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण विजेता मण्डेकाजी श्रेष्ठले काता टिम तयार गरिहेका छन् । उनले यो टिमबाट पदकको अपेक्षा गर्न सकिने बताएका छन् ।

गत वर्ष नेपालकी काता खेलाडी सानुमाया थिङले एसियन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरिन् । उनले क्वार्टरफाइनलसम्म प्रतिस्पर्धा गरेकी थिइन् । त्यही प्रदर्शनको आधारमा उनी विश्व च्याम्पियनसिपमा छनोट भइन् । टिम कातामा पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको नेपाली टोलीमा म्याच एक्सपोजरको कमी थियो । 

त्यसैले नेपाल कराते महासंघले टिम महिला कातालाई बंगलादेशमा भएको दशौं दक्षिण एसियाली टिम कातामा सहभागी गराएको थियो । १५/२० दिनको प्रशिक्षणमा पनि नेपाली टोलीले स्वर्ण पदक जित्न सफल हुँदा टोल थप उत्साही छ । तर, अब एसियन गेम्स आउन धेरै समय बाँकी छैन । अहिलेसम्म पनि समयमा खेलाडीले आवश्यक खेल सामग्री पाइसकेका छैनन् ।

नेपालले पहिलो पटक महिला टिम कातामा प्रतिस्पर्धा गर्न लागेको हो । कातामा नेपालले तयारी धेरै नभए पनि राम्रो गर्न सकिने विश्वास खेलाडी र प्रशिक्षकमा छ । एसियन गेम्समा कुल १७ विधामध्ये एउटा देशले ८ वटामा मात्र सहभागिता जनाउन पाउने भएपछि पुरुषतर्फ एकल काताको स्थानमा महिला टिम काता समावेश गरिएको छ ।

करातेको पावर हाउस जापान हो । एसियन गेम्स त्यहीँ आयोजना हुँदैछ । जापानमा केही अगाडिदेखि तयारी गर्न पाए अझ राम्रो हुने प्रशिक्षकको विश्वास छ । कराते महासंघले पनि केही अगाडि नै जापान लगेर खेलाडीलाई त्यहाँको मौसमसँग अभ्यस्त बनाउने तयारी गरिरहेको छ । 

मिसन २०२६ को लामो अभ्यार र अन्तिम समयको बन्द प्रशिक्षणसँगै परिषद्ले क्लोज क्याम्प सुरु गरेर त्यहीअनुरूप राम्रो डाइट दिँदै आउँदा खेलाडीले हौसला बढ्ने छ ।