काठमाडौं । साढे तीन वर्षपछि रोहित पौडेल राष्ट्रिय पुरुष क्रिकेट टिमको कप्तानको भूमिकाबाट हटाइएका छन् ।
रोहितले सन २०२२, नोभेम्बरमा २० वर्षको उमेरमा यो जिम्मेवारी सम्हालेका थिए । त्यतिबेला उनले सन्दीप लामिछानेलाई प्रतिस्थापन गरेका थिए । अहिले रोहितको स्थानमा पुनः सन्दीप कप्तान बनेका हुन् । ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी रोहित अहिलेसम्मकै सफल कप्तान पनि हुन् ।
कस्तो थियो रोहितको अहिलेसम्मको प्रदर्शन ?
रोहित पौडेलले कप्तानको जिम्मेवारी सम्हाल्दा नेपाली क्रिकेटको स्थिति त्यति सहज थिएन । लिग टु मा खराब प्रदर्शन गरिरहेको नेपालको ओडीआई मान्यता पनि संकटमा थियो । यस्तोमा सबैले अनुभवी खेलाडीले काँध थाप्न आउने अनुमान गरेका थिए । तर, नेपाली क्रिकेटको अन फिल्ड नेतृत्व गर्न तयार भएर आए- २० वर्षका रोहित ।
रोहित आएपछि नेपाली क्रिकेटले केही उल्लेख्य सफलता हातपार्यो । सन् २०१४ मा नेपालले टी ट्वेन्टी विश्वकपमा डेब्यू गरेपछि त्यही घटनाबाट प्रेरित भई क्रिकेट खेल्न सुरु गरेका रोहितकै कप्तानीमा नेपाल १० वर्षपछि पुनः विश्वकपमा फर्कियो । एकपटक होइन, दुईपटक सन् २०२४ र २०२६ ।
रोहित नेपालका सर्वाधिक सफल कप्तान हुन्, तथ्यांक हेर्ने हो भने यही देखिन्छ । टीयू मैदानमा २०२२, नोभेम्बरमा भएको यूएईविरुद्धको ३ खेलको ओडीआई सिरिजमार्फत रोहितले कप्तानको रूपमा डेब्यू गरेका थिए । त्यसपछि उनको नेतृत्वमा नेपालले ६३ ओडीआईमा ३१ जित हात पारेको छ । ३० मा हार बेहोर्दा २ खेल रद्द भएका छन् ।
सन् २०२३ मा नेपालले लिग टु मा चामत्कारिक प्रदर्शन गर्यो । अविश्वसनीय लाग्ने परिणाम दिलाउने टिमको नेतृत्व रोहितकै थियो । नेपालले लिग टु का पछिल्ला १२ मध्ये ११ मा जित हात पारेर सोझै एकदिवसीय विश्वकपको छनोट पनि खेल्यो । घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कप जित्दै नेपाल एसिया कपका लागि पनि छनोट भयो ।
जुन नेपालले खेलेको पहिलो एसिया कप थियो । त्यस प्रतियोगितामा रोहितको कप्तानीमा नेपालले विश्व क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्यो । रोहित नेपालका लागि ओडीआईमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् । रोहितले ८८ खेल खेल्दै ८३ इनिङ्समा २ हजार ३ सय १३ रन बनाएका छन् ।
तर, पछिल्लो समय नेपालले ५० ओभरको फर्म्याटमा फितलो प्रदर्शन गर्दै आएको छ । रोहितको ब्याट पनि चलिरहेको छैन । यसैकारण पनि उनको नेतृत्वमा प्रश्न उठेका थिए । हालै लिग टु अन्तर्गत नेदरल्यान्ड्स भ्रमणका सबै ४ खेलमा पराजित भएपछि रोहित थप आलोचित भएका हुन् ।
नेपालले नेदरल्यान्ड्स र नामिबियासँगका दुई दुई खेलमा हार बेहोर्दा कमजोर ब्याटिङ प्रमुख कारण थियो । नेपालले लिग टु मा ४-० को क्लिन स्विप हार बेहोरेको यो दोस्रो पटक हो । र, दुवै हार अवेमा भएको हो । विदेशी भूमिमा लगातार आठौँ हार बेहोरेपछि नेपालको ओडीआई मान्यता के हुन्छ भन्ने पनि चिन्ता छ । अब सन्दीपले यहाँबाट नेपाली क्रिकेटको अगाडिको यात्रा लिड गर्नेछन् ।