
सुर्खेत । २०७९ कात्तिकमा गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदपछि दशौँ संस्करणको प्रतियोगिता आयोजनाको जिम्मा कर्णाली प्रदेशलाई सुम्पिएको थियो । तर, २०८२ मंसिर २ देखि ९ गतेसम्म सञ्चालन गर्ने लक्ष्य राखिएको नेपाली खेलकुदको महाकुम्भ चार वर्ष बितिसक्दा पनि आयोजना हुन सकेको छैन ।
तर, कर्णाली प्रदेश खेलकुद परिषद्ले संघीय सरकारसँग समन्वय गर्दै मंसिरको पहिलो साताबाट प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको छ । अन्योल, निराशा र आशंकाबीच पटक पटक स्थगित हुँदै आएको प्रतियोगिताका लागि नियामक निकाय बामे सर्दा खेलाडी र प्रशिक्षकमा फेरि आशाको किरण छाएको छ ।
आफ्नै घरेलु खेल मैदानमा राष्ट्रिय खेलकुद आयोजना हुने भएपछि कर्णालीका खेलाडीहरुले खुबै मिहिनेत गरे । तर, मिति तोकिँदै र स्थगन हुँदै आएपछि उनीहरुको उत्साह पनि सेलाउँदै गयो । भलिबल खेलाडी भरतकुमार विक तिनै खेलाडीमध्येका एक हुन् जसले पहिलोपटक प्रतियोगिता घोषणा भएदेखि निरन्तर अभ्यास गरिहेका छन् ।
पदक जित्ने प्रदेशको लक्ष्यका साथ नियमित अभ्यास गरिरहेको उनी बताउँछन् । तर, विगतमा चारपटकसम्म मिति सारिएको तीतो यथार्थले पाँचौँपटक प्रस्तावित मितिमै प्रतियोगिता हुन्छ भन्नेमा भने खेलाडीहरू नै ढुक्क छैनन् ।
प्रतियोगिताको तयारी सुरु हुने संकेत पाएसँगै खेलाडी र प्रशिक्षक प्रशिक्षणको जुटेका छन् । यसअघि केही खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको थियो । अब पुनः खेलाडी छनोट र प्रशिक्षणलाई तीव्र बनाउँदै यसपटक दोहोरो अंकमा पदक जित्ने लक्ष्य बनाइएको प्रशिक्षकहरूको भनाइ छ ।
राजनीतिक अस्थिरता र खेल पूर्वाधार निर्माणमा भएको ढिलाइका कारण पटक पटक सर्दै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश खेलकुद परिषद्ले आगामी मंसिर पहिलो सातादेखि आयोजना गर्ने लक्ष्यका साथ तयारी अघि बढाएसँगै एकपटक फेरि चर्चामा आएको छ ।
परिषद्का अनुसार संघीय सरकारसँग आवश्यक समन्वय भइरहेको छ भने छिट्टै विस्तृत कार्यतालिका सार्वजनिक गरिनेछ । दशौं राष्ट्रिय खेलकुदमा ३३ खेल समावेश भए पनि कर्णालीमा उपलब्ध पूर्वाधारका आधारमा २५ खेलका प्रतियोगिता सञ्चालन गर्ने तयारी छ ।
सुर्खेतस्थित प्रदेश रंगशालामा एथलेटिक्स, फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, ह्यान्डबल, कबड्डी, कराते, ब्याडमिन्टन, टेबलटेनिस, रग्बीलगायतका खेल सञ्चालन गरिने छ । सरकारले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना तथा व्यवस्थापन शीर्षकमा चालु आर्थिक वर्षका लागि ४४ करोड १० लाख २९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
समन्वय अभाव र प्रशासनिक जटिलताले खेलकुद क्षेत्रप्रति राज्यको प्रतिबद्धतामाथि प्रश्न उठिरहँदा के पाँचौं पटकको मिति आगामी मंसिरमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना होला ?