विश्वका बलिया टोलीलाई पछि पार्दै होरा ईस्पोर्ट्सको फाइनल यात्रा

श्रावण २५, २०८३ |अभय बस्नेत
विश्वका बलिया टोलीलाई पछि पार्दै होरा ईस्पोर्ट्सको फाइनल यात्रा

काठमाडौं । पब्जी मोबाइल वर्ल्ड कप २०२६ मा नेपालको होरा ईस्पोर्ट्सले सानदार प्रदर्शन गर्दै ग्रान्ड फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । 

ग्रुप अफ डेथ मानिएको समूह 'बी' बाट होरा ईस्पोर्ट्स कसरी अन्तिम १६ मा पुग्न सफल भयो र अबको चुनौती कस्तो छ त ?

फ्रान्सको पेरिसमा जारी विश्वकपको समूह 'बी'अन्तर्गत भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै होरा ईस्पोर्ट्सले अन्तिम १६ मा आफ्नो नाम लेखाउन सफल भएको हो । विश्वका चर्चित र बलिया टोलीहरू समावेश १६ टोली बीचको समूह 'बी' को भिडन्त निकै प्रतिस्पर्धात्मक बनेको थियो । 

कुल १२ म्याचको समाप्तिपछि होरा ईस्पोर्ट्सले ९८ अंक जोड्दै तालिकाको चौथो स्थान हासिल गर्‍यो र ग्रान्ड फाइनलका लागि सिधै छनोट भयो । यस समूहमा इन्डोनेसियाको टिम भिटालिटी १ सय ४८ अंकका साथ पहिलो, टर्कीको आईडीए स्पोर्ट्स १ सय ८ अंकसहित दोस्रो र भारतको गडलाइक स्पोर्ट्स १ सय ५ अंकका साथ तेस्रो स्थानमा रहे । 

होरा ईस्पोर्ट्सले पूर्व विश्व च्याम्पियन टर्कीको एस टू जी स्पोर्ट्स र थाइल्यान्डको ई-अरिना जस्ता टोलीहरूलाई पछि पार्दै आफूलाई चौथो स्थानमा उभ्याएको हो। होरा ईस्पोर्ट्सको यो सफलतामा टोलीका पाँचै जना खेलाडीको भूमिका उत्तिकै महत्वपूर्ण देखिएको छ । 

टोलीमा सुरज लामा 'नोफियर', आकाश सोताङ राई 'स्काई होरा', शीतल राई 'स्लिप्पी होरा', उगेन लामा 'माफिया निन्जा' र प्रवेश गुरुङ 'हाइटदामी' रहेका छन् । यी खेलाडीहरूले समूह चरणको खेलमा देखाएको उत्कृष्ट प्रदर्शनले नै टोलीलाई कठिन समूहबाट पनि सिधै ग्रान्ड फाइनलको यात्रा तय गराएको हो ।

अब होरा ईस्पोर्ट्सको अन्तिम र मुख्य परीक्षा पेरिसमा फाइनलको मञ्चमा हुनेछ । ग्रान्ड फाइनलका खेलहरू अगस्ट १४ देखि १६ सम्म पेरिसस्थित पेरिस एक्स्पो पोर्टे डी भर्सायमा आयोजना हुने तालिका रहेको छ । प्रतियोगिताको पुरस्कार राशि पनि निकै आकर्षक छ । 

कूल ३० लाख २५ हजार अमेरिकी डलरको पुरस्कार रहेको यस विश्वकपमा च्याम्पियन बन्ने टोलीले ५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ । अन्तिम १६मा पुगेको नेपालको होरा ईस्पोर्ट्सले अहिलेकै अवस्थामा घर फर्किए पनि ‍९० लाख नेपाली रुपैयाँ बराबरको रकम जितिसकेको छ ।

नेपाली ई-स्पोर्ट्स प्रेमीहरूको आशा बोकेको होरा ईस्पोर्ट्स अब विश्व च्याम्पियन बन्ने लक्ष्यका साथ फाइनलमा उत्रिने तयारीमा जुटेको छ । पेरिसको यो फाइनल नेपाली खेलकुदको लागि पनि एउटा विशेष अवसर हुनेछ, जहाँ नेपाली खेलाडीहरूले विश्वभरका उत्कृष्ट टोलीहरूसँग प्रतिस्पर्धा गर्दै नेपालको झण्डा फहराउने प्रयास गर्नेछन् ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।